अफ्रिका । अफ्रिकामा रहेका नेपाली साहित्यकर्मीबीच भर्चुअल बैठक मार्फत आज आइतबार अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरको गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा गणेश खडका ( सेसेल्स ), उपाध्यक्षमा सुवास सापकोटा ( केन्या ), महासचिवमा दुर्गा बिनय ( मलावी ) सचिवमा वड मिसन ( कङ्गो ), कोषाध्यक्षमा पुरोषत्तम अधिकारी ( सेसेल्स ) र सदस्यहरुमा प्रदिप ध्वज बुढाथोकी ( युगान्डा ) , रमेश राई ( मदागास्कार ) र अन्जु पौडेल ( नाइजेरिया ) रहेका छन । अन्य देशहरु बाट सदस्यहरु पछि थप गरिने छ ।
समितिको सल्लाहकारमा हिक्मत थापा (नाइजेरिया ), कृष्ण दत्त भट्ट (केन्या ) र रमेश कंडेल ( युगान्डा ) लाई समेत बैठकले चयन गरेको छ । बैठकमा शुभकामना दिंदै अनेसास अन्तरराष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले अब अनेसास संसारका सबै महादेशमा पुगेको बताउंदै कार्यसमितिमा चयन हुने सम्पुर्ण साथीहरुलाई बधाई र शुभकामना दिएका थिए ।
अफ्रिकामा नेपाली साहित्यमा कलम चलाउनु हुने लेखकहरुलाई अनेसासको अन्तरराष्ट्रिय संजालमा स्वागत गर्दै पौडेलले सबै मिली नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी बनाउनु पर्ने अभियानमा आफुहरु रहेको बताए । त्यसैगरी गैरआवासीय नेपाली सङ्घ – भाषा , साहित्य , संस्कृती तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले अफ्रिकामा अनेसास स्थापना गर्ने पुरानो सपना आज यथार्थमा परिणत भएको छ भन्दै नेपाली भाषा साहित्यलाई अफ्रिकामा समेत बिस्तार र समृद्ध गर्न यसले थप योगदान दिनेछ भन्ने विश्वास व्यक्त गरे ।






