काठमाडौं । गएको २४ घन्टामानेपालमा थप एक हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ सय ४४ महिलासहित एक हजार ६९ जना कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरि उपत्यकाभित्र मात्र ४ सय ८१ जना संक्रमित भएका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । संस्थागत आइसोलेसनमा दश हजार ८ सय ३२ र होमम आइसोलेशनमा ७ हजार २ सय ८० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २२ हजार १ सय ७८ पुगेको छ ।
बितेको २४ घन्टामा कोरोना भाइरसका कारण चार वर्षीय बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा दुई दुई जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
यसैगरी सिरहामा ६५ वर्षीय, बारामा ६० वर्षीय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।