लन्डन । पछिल्लो एक हप्ताभित्र कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ ।
समितिका अनुसार यो साता योसाता मृत्यु हुनेहरुमा बेलायतमा १ जना र युएईमा २ जना रहेका छन् । समितिद्वारा शनिबार साँझ सम्मको सार्वजनिक तथ्याँक अनुसार विभिन्न १६ देशमा १ सय ९५ जना नेपालीहरुको निधन भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।
अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।
हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।






