लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले एक विज्ञप्ति जारी गरि गैरआवासीय नेपाली संघद्वारा अघि सारीएको निःशुल्क सदस्यता वितरण सकरात्मक भएको जनाएको छ ।
निःशुल्क सदस्यता वितरण, इलोक्ट्रोनिक्स् मतदान, र हरेक विश्वसम्मेलनमा काठमाण्डौंमा लाग्ने दर्ता शुल्क २ सय डलर खारेजीको प्रक्रियाप्रति नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट स्वागत र समर्थन रहेको भन्दै समितिको तर्फबाट सभापति युवराज गुरुङ्गले बुधबार विज्ञप्ति जारी गरेका हुन् ।
विभिन्न देशका राष्ट्रिय समितिले सदस्यता शुल्कको नाममा सर्वसाधारणबाट संकलन गरेको करोडौं रुपैयाँमा भएको अनियमिता प्रति तत्तकाल छानविन गर्न र घोटाला गर्ने दोषी माथि कारवाही गर्न समेत समितिले आग्रह गरेको छ ।
“गैरआवासीय नेपाली संघ सबैको साझा संस्था भएकोले यो संस्थालाई कुनै पनि राजनीतिक दलको सिन्डिकेटमा परिचालन नगर्न समेत वर्तमान कार्यसमितिलाई आग्रह गरिन्छ” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ :-
विदेशमा रहेका नेपालीहरुलाई निःशुल्क सदस्यता वितरण गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न बैठकले गरेको निर्णयप्रति नेपाली जनसम्पर्क समिति बेलायतको ध्यानार्कषण भएको छ । ८० लाख नेपालीको साझा संस्थाको रुपमा हेरिएको गैरआवासीय नेपाली संघको स्थापनाकालको १७ वर्ष सम्म १ लाख सदस्य समेत बन्न नसक्नुको पछि संघको सदस्यता वितरणमा भएको घोटाला र चर्को शुल्क भएको हाम्रो ठहर रहेकोछ ।
त्यसैले संघको गत हप्ता सम्पन्न केन्द्रीय समितिको बैठकले निःशुल्क सदस्यता वितरण, इलोक्ट्रोनिक्स् मतदान, र हरेक विश्वसम्मेलनमा काठमाण्डौंमा लाग्ने दर्ता शुल्क दुई सय डलर खारेजीको नेपाली जनसम्पर्क समिति वेलायत स्वागत र समर्थन गर्दछ ।
विगत १७ वर्षमा विभिन्न देशका राष्ट्रिय समितिले सदस्यता शुल्कको नाममा सर्वसाधारणबाट संकलन गरेको करोडौं रुपैयाँमा भएको अनियमिता प्रति तत्काल छानविन गर्न र घोटाला गर्ने दोषी माथि कार्यवाहीको लागि सम्वन्धीत सबैमा आग्रह गरिन्छ ।
संघको नयाँ निर्णयले राष्ट्रिय समितिमा हुने निर्वाचन र सदस्यता वितरणमा हुने खर्च कारण सर्वसाधारणमाथि आर्थिक भार अन्त्य हुने समितिले विश्वास लिएको छ ।
संघको राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्वाचनमा सदस्यता शुल्क र प्रतिनिधि दर्ता शुल्कमा चलखेल गरेर ठूलो धनराशी हात पार्न खोज्ने बिचौलियाहरु संघले हालै गरेको निर्णयको बिरुद्धमा रहेकोप्रति सजग रहदै विश्वभर संचालनमा रुपमा फैलिएका नेपाली जनसम्पर्क समितिहरु एक भएर त्यस्ता विचौलियाका बिरुद्ध एक जुट हुदैं गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा सर्वसाधारणको लागि निस्पक्ष निर्वाचनको वातावरण बनाउन हार्दिक अनुरोध गरिन्छ ।
साथै गैरआवासीय नेपाली संघ सबैको साझा संस्था भएकोले यो संस्थालाई कुनै पनि राजनीतिक दलको सिन्डिकेटमा परिचालन नगर्न समेत वर्तमान कार्यसमितिलाई आग्रह गरिन्छ ।
युवराज गुरुङ्ग
सभापति, नेपाली जनसम्पर्क समिति बेलायत
२६ अगष्ट २०२०