काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार १ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उपत्यकाभित्र मात्र अहिलेसम्मकै सबैभन्दा बढी ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनामा आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार १ सय ११ मा संक्रमण भेटिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरि निको भएर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ । नेपालमा कुल निको हुने दर ५६ प्रतिशतमा झरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ । होम आइसोलेशनमा ६ हजार २ सय १० र संस्थागत आइसोलेशनमा ९ हजार ६३ जना रहेका छन् । विदेशबाट फर्किएका ९ हजार ४ सय ४८ जना नेपालीहरु क्वारेन्टाइनमा बसेका छन् ।
२४ घन्टामा थप ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टा भित्र नेपालमा कोरोना संक्रमित ५ महिलासहित थप ८ जनाको मृत्यु भएको छ । थप मृत्यु हुनेमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका एक एक जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका एक एक पुरुष रहेका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।