लन्डन । हिन्दू नारीहरुको महान पर्व तीज मनाउने प्रक्रिया समय र परिस्थितिले गर्दा यसपाली एकदमै फरक भएको छ । कोरोना संक्रमणका कारण साथीसंगी भेटघाट गरेर रमाइलो गर्ने प्रचलन यसपटक घरमै बसेर मनाउनुपर्ने बाध्यता भएको छ । विगतका वर्षहरुमा जस्तै तीजमा रमाइलो गरेर दर खाने कार्यक्रम घरमै बसेर केवल आफूभित्रमात्र रमाउनुपर्ने भएको छ ।
यो वर्ष बजारमा आएका तीजका सांगीतिक कोसेलीहरु पनि प्राय सबै कोरोनासंग सम्बन्धित रहेका छन् । गीतको माध्यमबाट कोभिडको संक्रमणबाट बच्न अनावश्यक घर बाहिर ननिस्कने, भिडभाड बढी नगर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने जस्ता सन्देशमूलक गीतहरु बजारमा आएका छन् ।
यसैगरी बेलायत निवासी कुशल श्रेष्ठको निर्देशनमा एउटा छुट्टै खालको तीज गीत ‘जुममा हेरेर’ बोलको गीतको म्युजिक भिडियो तयार भएको छ । गायिका सुनिता दुलालको स्वरमा रहेको यस गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भैसकेको छ ।
विश्वभर कोभिड १९ को सन्त्रास फैलिरहेको भिडभाड नगरी भर्चुअल रुपमा पनि तीजलाई मनाउन सकिने सन्देश रहेको उक्त गीत समय सापेक्ष रहेको निर्देशक श्रेष्ठले बताए । गीतमा अमेरिका निवासी रोजा ओलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ ।
भिडियोमा भगवती तिमल्सिना, काव्या श्रेष्ठ, रश्मिता दर्लामी, दिपिका श्रेष्ठ, आस्था जोशी, रोश्ना कार्की, रिमा कंडेल, स्वस्तिका लोहनी, अस्तिक कंडेल, दिपक थापा मगर लगायतको अभिनय रहेको भिडियोमा दिलु थापाको नृत्य निर्देशन रहेको छ ।
निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवं म्युजीक भिडियो गरी दुई दर्जन भिडियो निर्माण गरिसकेका छन् । भिडियो बेलायत, अमेरिका र नेपालमा छायांकन गरिएको छ ।
‘ जुममा हेरेर’ गीतको म्यूजिक भिडियो हेर्नुहोस ।