काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे विगत केहि महिनादेखि घरमै उपचाररत थिए ।
स्व. घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभाका धनी थिए ।
माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लम्जुंग जिल्लाको पुस्तुन गाउँमा भएको थियो । जन्मिएको तीन वर्षमा उनकी आमाको निधन बहेको थियो । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरेका थिए ।
११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगेका थिए ।
घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।