लन्डन । निकट भविष्यमा बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) द्वारा परीक्षण गर्न लागिएको कोरोना विरुद्धको खोपमा सहभागिता जनाउन एक लाख स्वयंसेवकहरुले आफ्नो नाम दर्ता गराएका छन् ।
तर अझै बढी स्वयंसेवकहरु आवश्यक पर्ने भएकोले अन्य इच्छुक व्यक्तिलाई नाम दर्ता गराउन आग्रह गरिएकोछ ।
खोपको असर बढी सुरक्षित र प्रभावकारी बनाउन सकेसम्म धेरै व्यक्तिहरुमा परीक्षण गर्ने लक्ष्य रहेको अनुसंधानकर्ताहरुले बताएका छन् ।
धेरै भन्दा धेरैमा परीक्षण गर्न सके चाडै नतिजा निस्कन सक्ने उनीहरुको धारणा छ ।
अनुसन्धानकर्ताहरुले विशेषगरी कोरोनाबाट अति प्रभावित जातीय अल्पसंख्यक वा ६५ वर्ष माथिका स्वयंसेवकहरुलाई प्राथमिकताका साथ खोजी गरिरहेको बताएका छन् ।
यूके भ्याक्सिन टास्क फोर्स अध्यक्ष केट बिंघामले परीक्षण गर्न लागिएको खोप सुरक्षित रहेको बताउंदै आफ्नो नाम दर्ता गराउन अनुरोध गरेकी छन् ।
जति चाडो क्लिनिकल परिक्षण सम्भव हुन्छ त्यति नै त्यसको नतिजा आउने र छिट्टै खोपको विकास गर्न सकिने बिंघामले बताएकी छन् ।
स्वयंसेवकको लागि इच्छुक व्यक्तिले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन । पछिल्लो समय कोरोना भाइरस खोप विकासको लागि शक्तिशाली राष्ट्रहरुबीच ठूलो दौड चलिरहेको छ ।
पछिल्लो समयमा रुसद्वारा तयार पारिएको भ्याक्सिनप्रति धेरैले आशंका व्यक्त गर्दै आएका छन् । यता बेलायतको अक्सफोर्ड युनिभर्सिटीले पनि भ्याक्सिन सफलता उन्मुख भएको बताउंदै आएको छ ।
हाल विश्वविद्यालयले हजारौं स्वयंसेवकमाथि क्लिनिकल परीक्षण गरिरहेको छ ।
नेशनल हेल्थ सर्भिस (एनएचएस) द्वारा परीक्षण गर्न लागिएको कोरोना विरुद्धको खोपमा सहभागिता जनाउन यहाँ क्लिक गर्नुहोला ।