लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को प्रभाव विदेशमा रहेका नेपालीमा केहि कम भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकले जनाएको छ । समितिका नुसार योसाता विदेशमा रहेका कुनै पनि नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म नेपाल सहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान हो ।
हाल सम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८३ प्रतिशत अर्थात ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिएका छन् ।
५१ हजार भन्दा बढीको उद्धार
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।
दैनिक ५ सय उद्धार गर्ने सरकारी नीतिले थप समस्या
दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने सरकारले गरेको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने भएको छ ।
संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।
विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाई छ । सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने केसीले बताएका छन् । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन उनले सरकारलाई आग्रह गरेका छन् ।
यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो ।
२ सय ४६ शव नेपाल ल्याइयो
विभिन्न कारणले विदेशमा मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १ सय ७२ जनाको शव गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको समितिले जनाएको छ ।