काठमाण्डौ । भदौ १ गतेदेखि संचालन हुने भनिएको नेपाल प्रवेश गर्ने सबै अन्तरराष्ट्रिय प्रवेश बिन्दु तथा सीमानाका पुन: स्थगित गरिएको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै राजधानीमा स्वास्थ्य सुरक्षामा कडाइ गर्ने निर्णय गरेपछि भदौ १ गतेदेखि संचालन हुने भनिएको नेपाल प्रवेश गर्ने सबै अन्तरराष्ट्रिय प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ ।
स्वदेश आउनपर्ने बाध्यता भएका नेपालीलाई भने निर्धारित नाकाबाट प्रवेश गर्न सकिने बताइएको छ । सोहीअनुसार ढुवानीको पनि व्यवस्था मिलाइएको छ ।
कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकाले छोटो, मध्य र लामो दूरीमा चल्ने निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, भेला, तालिम, गोष्ठी, परीक्षालगायत मानिसको जमघट हुने कार्यक्रम भदौ १५ गतेसम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।
नेपालमा करिब तीन महिना लामो लकडाउन खुकुलो गरेसंगै कोरोनाको संक्रमण र मृत्युदर तीव्र रुपले वृद्धि हुदै गैरहेको छ ।कोरोना संक्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यका लगायत उपत्यका बाहिरका केहि स्थानमा थप कडाइ गरिएको छ ।