काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा थप २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र पछिल्लो चौबीस घण्टामा ४० जना नयाँ संक्रमित थपिएका हुन ।
योसंगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको कूल संख्या १९ हजार ७ सय ७१ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले हिजोदेखि लागू हुनेगरी साँझ ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा अहिले ५ हजार ३ सयु १६ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ७ सय ६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा १२ हजार १ सय ११ जना र ५ हजार ३ सय १६ जना आइसोलेशनमा रहेका रहेका प्रवक्ता गौतमले बताएका छन् ।
मृत्यु हुनेको संख्या ५६ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र थप चार जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।