लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आफ्नो संवैधानिक हक अधिकारको विरुद्ध सर्वोच्चमा दायर गरिएको मुद्दालाई लक्षित गरि सामाजिक संजालमा गरिएका विभिन्न भ्रामक र कपोलकल्पित सन्देशप्रति गम्भीर आपत्ति जनाएको छ ।
स्वयं अदालत तथा न्यायधिशहरुको समेत मानमर्दन हुनेगरी अदालतमा विचाराधीन विषयमा सामाजिक संजालमा गरिएको तथाकथित भनाइ अत्यन्तै निन्दनीय र आपत्तिजनक भएको भन्दै गेसो सभापति कृष्णकुमार राईले बिहीबार एक विज्ञप्ति जारी गरी सो आपराधिक कार्यप्रति घोर भर्त्सना गरेका छन् ।
आपराधिक मानसिकता बोकेका केहि व्यक्तिद्वारा गेसोको प्रगतिप्रति इर्श्या, डाहा गर्ने उद्देश्यले गेसोको विचाराधीन मुद्दालाई धमिल्याउन खोजेको गेसोको आरोप छ । गेसोको पवित्र कार्यलाई असफल बनाउने उद्देश्यले बदनियतपूर्वक गरिएका यस्ता टिकाटिप्पणी गर्नेहरुप्रति गेसोको कुनै सरोकार नरहेको विज्ञप्तिमा उल्लेख छ ।
भूपू सैनिकलाई लक्षित गरि अत्यन्तै अशोभनीय, अमर्यादित, असभ्य तथा आपत्तिजनक शब्दले सिंगो न्यायपालिका र लाखौँ भूपू सैनिकको मानमर्दन भएको गेसोको ठहर छ । गेसोले अदालतको समेत मानहानी हुने गरि गरिएका यस्तो निन्दनीय कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरि प्रचलित कानून बमोजिम अबिलम्ब कडा भन्दा कडा कारवाही होस् भन्दै नेपाल सरकार तथा सम्बन्धि निकायसमक्ष जोडदार माग गरेको छ ।
ज्येष्ठ नागरिक (सिनियर सिटिजन) लाई सम्मानस्वरूप दिंदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने नेपाल सरकार मन्त्रीपरिषद् बैठकद्वारा गरिएको निर्णय विरुद्ध भूतपूर्व सैनिक संघ (गेसो ) द्वारा दायर गरिएको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।
सामाजिक सुरक्षा भत्ता कटौती गरि विदेशी सेनामाथि विभेद गरेको भन्दै बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको तर्फबाट साउन ५ गते संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
गत आइतबार गेसोको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरि १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिएको छ ।