क्यारेबियन प्रिमियर लिगका लागि सन्दीप बिहीबार उड्ने

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् ।  कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो ।

“बिहीबार उड्ने पक्कापक्की छ, अब कुनै द्विविधा छैन”, शिवाकोटीले भने । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको उनले बताए । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् । सन्दीपले सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षणका लागि दिएका छन् । परीक्षणको नतिजा आज आउने व्यवस्थापक शिवाकोटीले बताए ।

सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेछ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको थियो । सरकारले सहयोग गरेकै कारण सन्दीपको टोबागो यात्रा सहज भएको हो । उनले टोबागो पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म चल्नेछ ।

सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कूल ३३ खेल हुनेछन् । कोरोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइनेछन् । सन्दीप तेस्रोपटक सिपिएल खेल्ने तयारीमा छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए ।

यस्तै दोस्रोपटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले ६ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित