लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकालको २५ औं वर्ष पूरा गरेको अवसर पारेर रजत वार्सिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
परिषद्का संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई २५ तोला शुद्ध चाँदीमा बनेको विशिष्ट सम्मान रजत वर्ष अभिनन्दन पत्र तथा पदकबाट सम्मानित गरिएकोछ ।
रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदकको घोषणा गरेका थिए ।
रजत जयन्तीकै अवसर पारेर परिषदको साहित्यिक प्रकाशन ‘लालीगुराँस’ स्मारिकाको पनि विमोचन गरिएको छ ।
यसैगरी परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीति संग्रह, कवि गोपाल पराजुलीको कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ र लेखक एवं सामाजिक अभियन्ता सुरेन्द्र नेपाल श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तक हरुको पनि विमोचन गरिएको थियो ।
परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठ नेपाली साहित्यलाई निरन्तरता दिन बेलायतमा हरेक वर्ष लक्ष्मी जयन्ती, भानु जयन्ती, साहित्य सन्ध्या, पुस्तक विमोचन तथा सय वर्ष पुगेका साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताउँछन् ।