काठमान्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको विकल्प खोज्नको लागि दुई नेताबीचमा भएको वार्ता सकिएको हो ।
नेकपा भित्रको आन्तरिक कलहका कारण जारी संकटलाई अन्त्य गर्नको लागि आफूहरुबीचको असमझ्दारी हटाउने प्रयास खोजिएको स्रोतले बताएको छ ।
नेताहरुमा देखिएका अविश्वास, भ्रम र हल्लाहरुबारे एक अर्कामा प्रष्ट पार्ने काम भएको छ’, नेकपाका एक सचिवालय सदस्यले भने, ‘वार्तालाई निरन्तरता दिने र त्यसका लागि मंगलबार पुनः बस्ने कुरा भएको छ ।’
नेकपामा भएको विवादका कारण पार्टी एकता बचाउन पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरुले दवाव दिँदै आएका छन् ।
दुई नेताहरुबीचको खिचातानीले गर्दा पार्टीको अस्तित्व मेटिने खतरा बढेको भन्दै युवाहरु सक्रिय बन्दै आएका छन् ।
भारतले आफूलाई हटाउन लागेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछी विवादले झन उग्र रुप लिएको थियो ।






