लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ९७ हजारभन्दा बढी मानिसको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । जसअनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९९ लाख १० हजार १ सय ३७ पुगेको छ । संक्रमित मध्य ५३ लाख ६० हजार ८ सय ५६ जना निको भएर डिस्चार्ज भएका छन् ।
करिब ५७ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गैरहेको छ ।
सङ्क्रमणका आधारमा कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २७ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।