ब्राजिल । कोरोना भाइरस (कोभीड १९) का कारण पछिल्लो समयमा ब्राजिल निकै प्रभावित मुलुक बन्न पुगेको छ । सबैभन्दा धेरै मृत्यु हुने मुलुकमध्य ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।
गएको २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसका ५४ हजार नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरसबाट ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ९० पुगेको वोर्ल्डओमिटरले देखाएको छ । यसैगरी सङ्क्रमित संख्या १० लाख ३८ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार २ सय २१ जनाको कोरोनाले मृत्यु भएको छ । ब्राजिलमा लगातार चौथो दिन एक हजार दुई सय जनाभन्दा बढीको मृत्यु भएको हो ।
कोरोनाको उचित मात्रामा परीक्षण नहुँदा सङ्क्रमित हुनेको सङ्ख्या अहिलेको तथ्याङ्कभन्दा अत्याधिक हुने र सङ्क्रमणको क्रम उच्च हुन अझै केही साता लाग्ने विज्ञहरुले बताएका छन् ।
ल्याटिन अमेरिकी राष्ट्र यतिबेला कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । मेक्सिको, चिली, पेरुजस्ता राष्ट्रमा सङ्क्रमण तीव्र रुपमा फैलिँदैछ । यी राष्ट्रका प्रमुख शहरहरू पूर्णरुपमा बन्द गरिएका छन् ।
ब्राजिली राष्ट्रपति जायर बोल्सानेरोले कोरोना सङ्क्रमणको प्रकोपभन्दा ब्राजिलको आर्थिक अवस्था अझै नाजुक हुने बताएका छन् ।