लन्डन, आज अगष्ट महिनाको २९ तारिख शनिबार देश बिदेशमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाईंदैछ । बेलायतको पनि विभिन्न स्थानमा बस्ने हिन्दू धर्मावलम्बिहरुले ऋषितर्पणी मनाएकाछन । आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारी अर्थात जनै लगाउनेहरुले जनै फेर्ने चलन छ ।
नयाँ जनै लगाउने तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । तराई भेगमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ । नेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्हीको नाममा बेग्लै रुपमा मनाईने गरिन्छ ।
जनैपुर्णिमामा मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ । काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई क्याटी पूर्णिमाका रुपमा मनाउने गर्छन् । ललितपुरको बुंगमतिको मच्छिन्द्र बहालबाट दिप प्रज्वलन (मतया) गरि बुंगमति नगर परिक्रम गरिन्छ ।
कृषि प्रधान मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि उर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन बसेको हो । काठमाडौ उपत्यकाका किसानले आआफ्ना खेतमा गएर भ्यागुतालाई पूजा गरी भात खुवाउने चलन पनि छ ।
काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गंगा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड लगायतका महादेवस्थान र त्रिवेणीधामहरुमा बिहानैदेखि मेला लागेको छ । नेपाल लगायत बिदेशका विभिन्न मुलुकमा आ-आफ्नो धर्म संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रचलनले हिजोआज निकै व्यापकता पाउँदै गैराखेको छ ।





