काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच हजार नाघेको छ । आज थप ४ सय ४८ जना सङ्क्रमित भएपछी सङ्क्रमितहरुको कुल सङ्ख्या ५ हजार ६२ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप सङ्क्रमित हुनेमा ४ सय २४ पुरुष र २४ जना महिला रहेका छन् ।
आज थप १६ डिस्चार्ज भएसंगै कुल डिस्चार्ज हुनेको ८ सय ७७ पुगेको छ । दुबै प्रकारका परीक्षणको सङ्ख्या एकलाख २१ हजार ८६२, क्वारेन्टाइनमा एकलाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चारहजार १ सय ६९ रहेका छन् ।
अर्घाखाँचीको क्वारेन्टाइनमा रहेका सङ्क्रमित ५७ वर्षका एक व्यक्तिको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएको छ । उनको स्वाब परीक्षण पोजेटिभ आएकाले नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।