विदेशका नेपाली फर्काउने तालिका सार्वजनिक, बेलायतमा रोकिनेहरु जुनभित्रै फर्काइने

लण्डन । लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरु यसै महिनाभित्र स्वदेश फर्कन पाउने भएका छन् ।

नेपाल सरकारले बिहीबार जारी गरेको विदेशका नेपाली फर्काउने उडान तालिकामा युरोप र बेलायतलाई जुन २० मा राखिएको छ ।

लण्डनस्थित नेपाली दूतावासले भने आवश्यक सबै तयारीका लागि जुन २० मै उडान सम्भव नदेखिएपनि यो महिनाभित्रै हुने बताएको छ ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाली लिंकसंग भने, ‘सरकारले जारी गरेको तालिका टेन्टेटिभ हो । उडानअघि गर्नुपर्ने सबै तयारी पूरा गर्नका लागि अब २० तारिखसम्म पर्याप्त नहुन सक्छ । सबै काम सक्दा पनि बेलायतबाट जुन महिनाभित्रै भने उडान हुनेछ ।’

नेपाल फर्कनेहरुको पिसिआर टेस्ट अनिवार्य बनाइएको कारण त्यसका लागि पनि जुन २० भित्रकै समय पर्याप्त नहुने दूतावासको बुझाइ छ ।

बेलायतबाट नेपाल फर्किनेहरुको लागि ११ सय पाउण्ड हाराहारीमा भाडा तोकिएको छ । तर त्यो रकम कहाँ बुझाउने, टिकट नेपाल वा बेलायत कहाँबाट काटिने भन्ने जस्ता विषय पनि स्पष्ट हुन बाँकी छ । दूतावासले आवश्यक तयारीका लागि छलफल भइरहेको बताएको छ ।

लकडाउनका कारण बेलायतमै रोकिएका र नेपाल फर्कन जरुरी रहेको भन्दै यसअघि ३ सय ९१ नेपालीले दूतावासमा नाम दर्ता गराएका छन् । महामारीका बेला रोजगारी गुमाएका, भिसा सकिएका, विद्यार्थी, जाँच दिन आएका डाक्टर, तालिमलाई आएका कर्मचारी लगायतको उक्त सूची दूतावासले काठमाडौं पठाइसकेको छ ।

यसअघि सरकारले विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको थियो । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर्ड उडानको कार्यतालिका बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन् । नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ । त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन् ।

विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ–आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ । निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनका अनुसार नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्दैछ ।

जसअनुरुप जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विदेशबाट नेपाली ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिए । सरकारले गरेको निर्णयअनुरुप चार्टर्ड उडानका लागि सबैखाले तयारी थालिएको उहाँले उल्लेख गर्नुभयो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित