लन्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) माल्टाका सम्पूर्ण पदाधिकारीहरुले संयुक्त राजिनामा दिएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले गत मे ९, २०२० मा एनआरएनए एनसीसी माल्टाका धेरै पदाधिकारीहरु मानव ओसार-पसार कार्यमा संलग्न भएको, धेरै नेपालीहरु पीडित रहेको जस्ता गंभिर बिषयलाई छानविन गर्न एक समिति गठन गरेको थियो ।
गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) नारायाण आचार्यको संयोजकत्वमा गठित ५ सदस्य छानविन समितिले गरेको प्रगतिको जानकारी गराउन एक प्रेस विज्ञप्ति जारि गरेको छ। छानविन समितिमा क्षेत्रीय उपसंयोजकहरु मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना र शुक्रराज नेउपानेका साथै आइसिसि सदस्य रामशरण सिम्खडा रहेका थिए ।
छानविनबाट आएको निष्कर्ष र बिषयलाई सहज बनाउनको लागि एनआरएनए एनसीसी माल्टाको निर्वाचित सिंगो टिमले नै संयुक्त रुपमा राजिनामा दिएको हो । एनसीसी माल्टाका अधिकांस पदाहिकारीहरुले आफूहरु मानव ओसार-पसार कार्यमा संलग्न भएको स्विकारेका छन् ।
थुप्रै प्रयास र अनुसन्धान पछि सो नतिजामा पुगिएको र एनआरएनए एनसीसी माल्टाले सबै कुरामा सहयोग गरेको कुरा पनि आरसी नारायाण आचार्यले बताएका छन् ।
आफ्नो जिम्मेवारीलाइ एउटा टुंगोमा पुर्याएर अगाडि आइसीसीलाइ निर्णय गर्न बाटो खुल्ला भएको कुरा बताउँदै यस कार्यमा सहयोग गर्नुहुने एनसीसी माल्टा र संबद्ध सबैलाई आरसी आचार्यले धन्यवाद ज्ञापन गरेका छन् ।