लन्डन। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) संगै चुलिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाका पदाधिकारीमाथि लागेको आरोपको छानबिनको अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रसमक्ष पेश गरिएको छ । उक्त आरोपको बारेमा सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्न गत मे ९ मा गठित पाँच सदस्यीय समितिले आफ्नो २० पाना लामो प्रतिवेदन मंगलवार दिउँसो संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्मा समक्ष पेश गरेको छ । उक्त छानबिन समितिमा युरोप संयोजक नारायण आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा रहेका थिए ।
गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार छानविन समितिको १ घण्टा लामो बैठकले सर्वसम्मतबाट सो प्रतिवेदन पास गरेको थियो । सो प्रतिवेदनमा पदाधिकारीहरुसंग लिइएको भिडियो अन्तर्वार्ता समेत संलग्न गरिएको छ ।
प्रतिवेदनको बारेमा छानबिन समितिका सदस्य एवं युरोप उपसंयोजक कृष्ण तिमल्सेना भन्छन, हाम्रो काम को दोषी को निर्दोषी भन्ने पत्ता लाउने भन्दा पनि सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्नु हो, हामी पांच जनाको टिमको संयुक्त प्रयासमा निकै ठूलो मिहिनेतका साथ् प्रतिवेदन पेश गरेका छौं, यसको अध्ययन गरि केन्द्रले अन्तिम निर्णय गर्नेमा विश्वस्त छौं, तिमल्सेनाले भने ।
माल्टामा श्रमिकहरु ल्याउन त्याहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा पाँच सदस्यीय विशेष समिति गठन गरिएको थियो । उनीहरुले श्रमिकहरुलाई ल्याएको स्वीकार गरेपनि व्यावसायिक रुपमा नल्याई आफन्तहरुलाई ल्याएको बताउंदै आएका छन् ।
छानबिन समतिलाई काम काम गर्न सहज होस् भन्ने उद्देश्यले नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले संयुक्त रुपमा राजीनामा समेत दिइसकेका छन् । यद्धपि उनीहरुको राजीनामा स्वीकृति भएको आधिकारिक पुष्टि भने आएको छैन । सम्पूर्ण कार्यसमितिद्वारा नै राजिनामा गरिएको गैर आवासीय नेपाली संघको इतिहाँसमै सम्भवत: यो नै पहिलो घटना हुन सक्छ ।
उनीहरुको राजीनामा र छानविन समितिको प्रतिवेदनको बारेमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारिणी सचिवालय (आईईएस) को आगामी हाप्ता बस्ने बैठकले निर्णय गर्नेछ ।
आईईएस को आगामी बैठकले कस्तो निर्णय गर्न सक्छ त भन्ने बारेमा एनआरएनए महासचिव डा. हेमराज शर्मा भन्छन, उनीहरुको राजिनामा स्वीकृत गरेर नयाँ कार्यसमिति बनाउने वा अर्को व्यबस्था नहुन्जेलसम्म सोहि कार्यसमितिलाई निरन्तरता गर्न लगाउन सक्नेछ । शर्माले संघको विधान समितिको संयोजकको रुपमा समेत काम गरिसकेका छन् ।