काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्पया १५ पुगेको छ । चितवन भरतपुर अस्पतालमा एकजना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवन भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको बताए ।
सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए । यसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ ।
जसमध्ये ५ सय ७ जना पुरुष छन् भने ७७ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ । उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन् । आज इलाम जिल्लामा पनि पहिलोपटक संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमित भेटिएको जिल्लाहरुको संख्या ७२ पुगेको छ ।