
मानिसको जीवनमा जति पनि संघर्ष गरिन्छ त्यो सबै मुख्यतया खान र लाउनको आवश्यकता पूर्ति गर्नको लागि गरिन्छ, तर जब खान र लाउन पूरा हुन्छ तब धनसम्पति कमाउने लोभ लाल्चा बढ्दै जानु स्वभाविक अनि मानवीय प्रवृतिअन्तर्गत पर्दछन । मानिसको जात कहिल्यै पनि सन्तुष्ट भएर बस्न सक्दैन, तेसैले उसका आवश्यकताहरु निरन्तर रुपमा बृद्दि हुनुका साथै अनि परिवर्तन भैरहन्छन् । जति जति आम्दानीको स्रोत बढ्दै जान्छ सोहीअनुरुप आवश्यक्ताहरु पनि बढ्दै जान्छन् । यसरी आफ्ना आवश्यकताहरु पूर्ति गर्ने क्रममा जसरी भौतिक विलासिताका बारेमा मानिसहरुले ध्यान दिन्छन तेहि रुपले आफ्नो जीवन र स्वास्थ्य सम्बन्धि कमैले मात्र ध्यान दिएको पाइन्छ ।
स्वास्थ्य नै धन हो भन्ने उक्तिलाई सबैले मनन गर्छन तर व्यबहारमा भने लागू गरेको पाइन्न । मानिसले पाएको अमूल्य जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा चिन्ता लिनु र त्यसको कार्यान्वयन गर्नु अत्यन्त आवश्यक हुन्छ । तर ब्यबहारमा भने ठीक उल्टो भैरहेको हुन्छ । आफ्नो लागि खाध्य सामाग्रीहरु किन्न गयो भने प्राय सबैले सस्तो दामको हेरेर लिने गर्दछ भने कतिपयले त सस्तो भन्ने बित्तिकै आवश्यकता भन्दा बढी खरिद गर्ने गर्दछन्, तर किन सस्तो भएकोछ, त्यसको वास्तविकता के हो र त्यसले हाम्रो शरीरमा हानि नोक्सानी पुर्याउँछ कि पुर्यौदैन भन्नेतर्फ कसैले पनि बिचार पुर्याउदैनन् । विभिन्न कारणले गर्दा सस्तो मूल्यमा राखिएका यस्ता खाध्य सामग्रीहरुलाई ठूलो परिमाणमा खरिद गरेर अझ लामो समयसम्म भण्डारण गरेर राख्दा स्वास्थ्यको लागि फाइदा होइन उल्टै बेफाइदा पुग्न सक्तछ । तर आफ्नो विलासिताका सामानहरु अनि जाँड रक्सी जस्ता पेय पदार्थको खरिद बिक्रिमा भने उच्चस्तरीय गुणस्तर र प्रचलित सामाग्रीहरुलाई जति नै महँगो मूल्य भए पनि तिर्न तयार हुन्छन् । कुनै कपडा किन्दा होस् वा पव र रेस्टुरेन्टमा खान जाँदा होस् पैसा तिर्नलाई गाह्रो हुँदैन, आफ्नो सवारी साधनलाई मर्मत गर्न लैजाँदा त्यसका पार्ट पूर्जा लगायत आवश्यक सामग्रीहरु उच्चस्तरको प्रयोग गर्ने सबैको मनसाय रहेको हुन्छ भने भने हाम्रो शरीरलाई चाहिने कुनै पनि खाध्य पदार्थ लगायतका बिभिन्न तत्वहरु पनि उच्च स्तरको हुन जरुरी छ । साधारण बिमारी परेको अवस्थामा फार्मेसीमा औषधि किन्न गयो भने महँगो हैन सस्तोमा नजर पुग्छ तर उक्त औषधिको सम्बन्ध आफ्नो जीवनसंग सम्बन्धित छ भनेर सोच्ने ब्यक्ति कमै मात्रामा हुन्छन् । जसरी हामीले आफ्नो घरमा आवश्यक पर्ने सामाग्रीहरु जस्तो सवारीसाधन, टेलिभिजन, फर्निचर, आदि जस्ता वस्तुहरुमा उच्चस्तरको चयन गर्छौं तेस्तै गरी हामीले खाने पिउने कुराहरुमा पनि ध्यान पुर्याउनु आवश्यक हुन्छ । स्वस्थ रहनको लागि खानपान र शारीरिक ब्यायमको उचित प्राबंध मिलाउन जरुरी हुन्छ । तिनै खानपान र जीवनशैलिको आधारमा नै मानव शरीरका अंग प्रत्यङ्गहरुलाई सुचारु गर्नको मद्दत मिल्दछ जसले गर्दा विभिन्न किसिमका रोगहरुसंग लड्न र तेसबाट बच्न सहयोग पुग्दछ ।
रोग लाग्न दिनुभन्दा रोगबाट बच्नु नै बुद्दिमानी हुने हुँदा समयमै आफ्नो शरीरको ख्याल राखेको खण्डमा ब्रिद्दाव्स्थामा हुने बिभिन्न किसिमको रोगहरुबाट मुक्ति पाउन सकिन्छ । मानिसको जीवन शैली र खानपानको प्रत्यक्ष्य असरले उसको उमेर ढल्कदै गएपछि प्रभाव पर्न थाल्दछ । तसर्थ अहिले प्रयोग गरिएको खाध्य सामग्रीको असर र परिणामलाई तत्कालीन रुपमा होइन दीर्घकालीन रुपमा पनि सोच्नु जरुरी हुन्छ । जसरी बिद्यार्थी जीवनमा पुरानो कोट लाएर भए पनि नयाँ किताब किन्नु बुद्दिमान हुन्छ तेस्तै मानव जीवनमा पनि सस्तो होइन स्वस्थ खानेकुराको सेवन गर्नु अमूल्य जीवनको रक्षाको दृष्टिकोणले लाभदायक हुन जान्छ ।





