गोर्खा अनलाइन रेडियो
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लागू गर्लाने भनिएको स्मार्ट एनआरएनए को प्रोजेक्ट सुरु भएको छ । संघलाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्ट टेण्डरमार्फत नेपालको एक कम्पनीलाई यसको जिम्मा दिइएको संघका महासचिव डा. हेम राज शर्माले जनाए ।
उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ । संघ नयाँ ईरामा प्रवेश गरेको छ भने संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुने संघले जनाएको छ ।
प्रोजेक्टका संयोजक तथा संघका सचिव जोशीले दिएको जानकारी अनुसार यो प्रोजेक्ट आगामी ६ देखि ९ महिना सम्ममा सम्पन्न गरि कार्यन्वयनमा ल्याइने बताएका छन् ।
स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि गरिने योजनाहरु यसप्रकार रहेका छन् ।
१) संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ। सदस्यता फाराम आ-आफ्नो मोबाइल डिभाइसबाट समेत भर्न सकिने छ भने पहिलेको एमआईएस (MIS System) पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ।
२) संघका सम्पूर्ण गतिविधिहरु मोबाइल एप्स (Mobile App) बाट प्राप्त गर्न सकिनेछ।
३) सदस्यहरुले आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड (Digital ID) डाउनलोड गर्न सक्ने छन्। प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ।
४) संघका बिभिन्न निकायका निर्वाचन (Voting System) विद्युतीय पद्धतीबाट गर्न सकिनेछ।
५) सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट पाउने व्यवस्था गरिनेछ। सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग दिन (Merchant System) सक्ने छन्। निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन।
६) हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईट (NCC Portal) को व्यवस्था गरिनेछ। वेभसाईटमा एकरुपता ल्याईनेछ।
७) आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ। संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्री तयार गरिने छ।