राटोपाटी /गोर्खा अनलाइन रेडियो
काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।
नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी भारतले जेठ १८ गते अर्थात मे ३१ सम्म चौथो पटक लकडाउनको समयावधि लम्ब्याएको छ । आइतबार भारतको केन्द्र सरकारले उक्त निर्णय गरेको हो ।
भारतीय गृहमन्त्रालयले लकडाउनको समयावधि लम्ब्याएसँगै मे ३१ सम्म आन्तारिक र बाहिरी उडानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । साथै मेट्रो रेलसेवा पनि बन्द गर्ने घोषणा गरिएको छ ।
त्यस्तै बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म निषेधाज्ञा समेत जारी गरिएको छ । भारतमा अहिलेसम्म २ हजार ७ सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार नाघेको छ ।