गोर्खा अनलाइन रेडियो
लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिले विश्वभरीमा ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको तथ्यांक सार्वजनिक गरेको छ । हालसम्म नेपाल लगायत विश्वभरिमा ९६ जना जना नेपालीहरुको कोरोनाबाट निधन भैसकेको तथ्याँकमा उल्लेख छ । एनआरएनएद्वारा प्रस्तुत तथ्याँक १६ मे सम्मको भएको हुँदा नेपालमा थप एकजनाको निधन भएकोले कुल मृतक संख्या ९७ पुग्न जान्छ ।
स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । बेलायतस्थित नेपाली दूतावास लण्डन र गैर आवासीय नेपाली संघ यूकेले पनि कोरोनाबाट मृत्यु हुने नेपालीहरुको समान तथ्याँक सार्वजनिक गरेको छ । यसघि सार्वजनिक दुवैको तथ्याँकमा एकरुपता नहुँदा द्विविधा उत्पन्न गरेको थियो ।
विश्वभर करिब ७ हजार ६२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको छ । यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपालमा २, जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा ७८ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ । कोरोना भाइरसका कारणले यो साता मात्र नेपाल सहित थप १९ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युके १२, युएई ३, साउदी अरब २ र नेपाल २ रहेको छ ।यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् ।संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् ।
उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आह्वान गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।