लन्डन, भनिन्छ कला र गला छ भने मानिसलाई परिचयको खासै आवश्यकता पर्दैन उसको परिचयको माध्यम आफै बन्दै जान्छ । आफूसँग कला र प्रतिभा छ भने संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो स्थान बनाउन कठिन हुँदैन भन्ने कुरालाई हाल बेलायतमा बस्दै आएका समीर थापाले प्रमाणित गरिदिएका छन् । संसारमा नेपालको नामलाई उच्च राख्नको निमित्त आफूलाई एक माध्यमको रुपमा अगाडि बढाउनको लागि समीरले आफ्नो यात्रा तय गरिसकेकछन् । पुर्ख्यौली घर गोर्खा भए पनि काठमान्डौ कालीमाटीमा समीर पिता सरोज थापा र माता श्रद्दा थापाको कोखबाट आजभन्दा २३ वर्षअघि जन्मेका थिए । नेपालबाट अध्ययन शुरु गरेका समीरले हंगकंग हुँदै हाल बेलायतमा संगीतसम्बन्धी अध्ययन गरिरहेकाछन् । उनी गीत गाउनका साथै गीत लेख्ने र संगीत दिने समेत गर्दछन् । बी.बी.सी. रेडियोबाट समेत उनको गीत बजिसकेको छ भने सन् २०१२ मा विश्वभरिका करिब २५००० जनाको सहभागिता रहेको अन्तराष्ट्रिय गित प्रतियोगितामा पनि उनले विजय प्राप्त गरिसकेको हुँदा उनीसँग भएको प्रतिभाको बारेमा सहजै अनुमान लगाउन सकिन्छ ।
सानै उमेरदेखि गीत संगीततर्फ विशेष चासो राख्ने समीर बेलायत आएदेखि नै यस क्षेत्रमा जोडतोडका साथ लागिरहेकाछन् । उनले लेखेको गीत विश्व गीत लेखन प्रतियोगितामा समेत पुरस्कृत भएको छ भने उनले पदकसमेत हात पारिसकेकाछन् । उनको यो प्रतिभाले बेलायतमा नेपालीको नाम राख्न सक्ने बलियो सम्भावना देखिन्छ । बेलायती आकुष्टिक सेसनमा अन्तर्वार्ता दिएर आफूलाई सांगीतिक धरातलमा स्थापना गरिसकेकाछन् । अग्रेजी गीतहरु गाएर आफूलाई सफलताको शिखर तर्फ डोहोर्याउदै गरेका समीरले निरन्तर लगनशीलता र मिहिनेतका साथ आफूलाई स्थापित गर्दै लागेको खण्डमा भविष्यमा बेलायतको सांगीतिक महलमा नेपालीको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा लिन सकिन्छ । आफूलाई कुशल गायक बनाउँछु भन्ने हिम्मतका साथ लागिपरेका समीरले बेलाबखतमा केही कार्यक्रममार्फत आफ्नो प्रतिभासमेत देखाउँदै आएकाछन ।
यही जुलाई ११ तारिखका दिन क्षेत्री समाज यूकेको बार्षिक भेटघाटको कार्यक्रममा समेत उनले गीत गाएका थिए । समाज सेवामा पनि उत्तिकै चासो राख्ने समीर हेल्थ फ्री नेपालसँग पनि सहकार्य गर्दै आएकाछन् । बोन म्यारो (ब्लड क्यान्सर) बाट पीडित गोर्खा सर्जेन्ट नारायण खड्काको ४ बर्षीय छाेरा श्रीनिक खड्काको लागि सहयोग गर्न पनि समीर लागिपरेका छन् । श्रीनिक खड्कालाइ जस्तो समस्या अन्य धेरैलाई पनि पर्न सक्ने हुँदा यसबारेमा सबैले बेलैमा सोचेर सहयोगको भावना राख्नुपर्ने समीरको धारणा रहेकोछ । तेस्तै नेपालमा गएको विनाशकारी भूकम्पका कारण प्रभावित नुवाकोट जिल्लाको एक विद्यालयको पुस्तकालय पुनर्निर्माण कार्यका लागि आफ्नो गीत संगीतमार्फत सहयोग गर्ने प्रतिबद्दतासमेत गरिसकेकाछन् ।
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
तपाईको प्रतिक्रिया