गोर्खा अनलाइन रेडियो
लन्डन । कोरोना भाइरस (कोभीड १९ ) को महामारीका कारण समस्यामा परेका बेलायतमा रहेका पूर्व गोर्खा तथा तिनका परिवारका सदस्यहरुलाई बेलायत सरकारको रक्षा मन्त्रालयले गम्भीरता पूर्वक लिएको र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।
हाल रक्षा मन्त्रालयले गोर्खा वेलफेयर ट्रष्ट लगायतका विभिन्न निकायहरुबाट समस्याको समाधान गर्दै आएको र आवश्यक परेमा स्वयं वा अन्य कसैको माध्यमबाट गोर्खा वेलफेयर एडभाइस सेन्टरमा सम्पर्क राख्न समेत रक्षा मन्त्रालयले नेपाली दूतावास लन्डनमार्फत अनुरोध गरेको छ ।
कोरोनाको संक्रमणमा परेका बेलायतमा रहेका पूर्व गोर्खा र तिनका परिवारका सदस्यहरुलाई परेको समस्यालाई आवश्यक सहयोग पुर्याउन गत महिनाको अप्रिल २७ मा लन्डनस्थित नेपाली दूतावासले बेलायत सरकार समक्ष आग्रह गरेको थियो । दूतावासद्वारा गरिएको अनुरोध पत्रको प्रतिउत्तरमा रक्षा मन्त्रालयले सो कुराको जानकारी गराएको हो ।
विश्वका एक सय दश मुलुकमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) बाट संसारभरी छरिएर रहेका गैर आवासीय नेपालीहरु पनि प्रभावित भएका छन् । कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या अन्य मुलुकहरुको तुलनामा बेलायतमा निकै बढी रहेको छ ।
बेलायतमा पाका उमेर भएका पूर्व गोर्खाहरुको संख्या बढी भएको र मृत्यु हुनेमा पनि उनीहरुको संख्या नै धेरै रहेको छ । नेपाली दूतावास लन्डनमा रहेको तथ्याँक अनुसार बेलायतमा हालसम्म ४० जना नेपालीहरुको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताएका छन् ।
तर केहि दिन अगाडी गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिले दिएको तथ्याँक अनुसार बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या ४९ जना रहेको बताएको छ । हिजोमात्र कोरोनाको संक्रमंबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुमा पूर्व गोर्खा सैनिकहरुको संख्या बढी रहेको छ ।
गोर्खा वेल्फेयर ट्रस्टको सम्पर्क यस प्रकार रहेको छ :
Gurkha Welfare Advice Centres
Email at: GurkhaWelfare@gwt.org.uk
Telephone :
Aldershot : 07882 731986 / 07886 3978890,
Salisbury : 07425629041 / 07425 629037