लन्डन । गत शनिवारका दिन साहित्यकार विशेश्वर प्रसाद कोइरालाको कृतिमा आधारित नेपाली कथानक चलचित्र “तीन घुम्ती ” ले नेपाल र बेलायतमा एकैदिन पारेर बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शोको आयोजना गरेको थियो । तीन घुम्तीको उक्त ग्राण्ड प्रिमियेर समारोहमा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो । निर्धारित समयभन्दा केही ढिला शुरु भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्वहरुका साथै बिभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो । नेपालमा गएको महाभूकम्पलाई स्मरण गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति एक मिनेट मौन धारण समेत गरिएको थियो ।
कार्यक्रममा सबै अतिथिहरु तथा प्रायोजकहरुलाई विशेष महत्वका साथ स्थान दिइएको थियो । चलचित्र तीन घुम्तीका बिशेष आकर्षक रहेकानायक ध्रुब दत्त तथा निर्देशक बाबुराम ढकालले चलचित्रलाई माया गरिदिनको लागि आग्रह गर्दै त्यसमा भएका कमीकमजोरीहरुलाई निर्धक्कका साथ औल्याई दिनको लागि आग्रह गरेका थिए । नायक ध्रुब दत्तले यस् अघि पनि चलचित्रमा सफल भूमिका निभाइसकेकाछन् भने केही म्यूजिक भीडीयोहरुमा समेत प्रस्तुत भइसकेका छन् । त्यस्तै प्रमुख अतिथि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले पनि ऐतिहासिक कथाबस्तुमा आधारित रहेर निर्माण गर्ने सम्पूर्ण टिमलार्इ धन्यबाद दिँदै नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने कुराको उल्लेख गरेका थिए । नेपालमा पनि सोही दिन जय नेपाल हलमा चलचित्र तीन घुम्तीको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा सहभागी हुन् प्रधान मन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री, एमाले नेता माधव नेपाल, अर्थमन्त्री रामशरण महत, कांग्रेश उपसभापति रामचन्द्र पौडेल, महेश आचार्य, शिक्षा मन्त्री चित्रलेखा यादव अभिनेत्री गरिमा पन्त लगायतका थुप्रै बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
एउटा नारीको जीवनमा आइपर्ने अनेकौं मोडहरुलाई समेट्न खोजिएको उक्त चलचित्रले बिशेषगरी महिलाको जीवनका तीनवटा रुप प्रेमिका, पत्नी र आमाको भूमिकालाई चित्रण गर्ने प्रयास गरेकोछ ।एउटी नारीको अलग अलग निर्णय बाबु आमाको इच्छा बिरुदको प्रेम बिबाह, पतिको अनुपस्थितिमा परपुरुषसंगको यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट तिरस्कृत भएपछि छोरीलाई लिएर एक्लै बस्ने निर्णय अनि यस्तो परिस्थितिमा आफ्नो अस्तित्व जोगाउनको लागि एउटी नारीले कतिसम्मको संघर्ष गर्नुपर्छ भन्ने कुरालाई यथार्थ रुपमा प्रष्ट्याउने जमर्को गरेकोछ चलचित्र तीन घुम्तीले । राजनीतिक तथा साहित्य दुवै क्षेत्रमा चर्चित एबम् सफल रहेका विश्वेश्वरप्रसाद कोइरालाको कृतिमा आधारित तीन घुम्ती नामक चलचित्र निर्माणको लागि प्रधानमन्त्री संरक्षक रहेको बीपी कोइराला स्मृति ट्रष्टसँग अनुमति लिएर तयार गरिएको हो । यस चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । दुलही, पर्खिराखा है, नाइन ओक्लक जस्ता चलचित्र लगायत केही सफल टेलि श्रृंखलासमेत निर्देशन गरिसकेका ढकालले यो चलचित्र निकै मिहिनेतका साथ तयार गरिएको र सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको कुरा उल्लेख गरेका थिए | कर्मा प्रोडक्सनको ब्यानरमा बनेको उक्त चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत अनि कृष्णहरि बरालको गीत रहेकोछ । यस चलचित्रको मुख्य भूमिकामा ध्रुव दत्त र सुशान्त कार्की रहेका छन् । ध्रुब दत्तले पिताम्बरको भूमिका निभाएकछन् भने इन्द्रमायाको भूमिकामा गरिमा पन्तले अभिनय गरेकिछन् | त्यस्तै चलचित्रमा अन्य अन्य कलाकारहरुमा लक्ष्मी गिरी, सुशान्त कार्की, मोहनदास श्रेष्ठ र भुवन चन्द जो प्रथम नेपाली नायिका पनि हुन् उनले पनि यस चलचित्रमा भूमिका निर्वाह गरेको छन् । साथै यस चलचित्रले पुरानो राष्ट्रिय गाना श्रीमान गम्भीर नेपाली ….. को पनि पुरानो याद दिलाउनेछ |
यस चलचित्रको ट्रेलर हेर्न तलको लिंकमा क्लिक गर्नुहोला |