लण्डन । अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९ ) का कारण ज्यान गुमाउनेहरुको संख्या यतिबेला १ लाख ७० हजार नाघिसकेको छ भने लाखौँ मानिसहरु कोरोनासंग लडिरहेका छन् । विश्वलाई नै चुनौतिको विषय बनेको कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि तयार भएको छैन ।
यतिबेला कोरोनालई जितेर आउनु अर्थात कोरोनाबाट ठिक हुनु भनेको भनेको एउटा ठूलो महायुद्धमा विजय प्राप्त गर्नु जत्तिकै भएको छ । यस्तै एउटा युद्ध जितेकीछन् बेलायतको ईएसएचटी (ईस्ट ससेक्स हेल्थ एनएचएस ट्रस्ट) अस्पतालमा कार्यरत एकजाना नेपाली नर्स उमा प्रधानले । साउथ ईष्ट लण्डनको कन्क्वेस्ट अस्पातालमा देखिएको सुरक्षाकर्मीहरुको खुसियालीले सबैलाई ठुलै युद्ध जितेको भान हुन्थ्यो ।
कोरोना भाइरसको संक्रमणका कारण २३ दिनसम्म ‘क्रिटिकल केयर’मा रहेर उपचार गराएकी उमाको स्वास्थ्यमा सुधार देखिन थालेपछि शुक्रबार उनलाई ‘जनरल वार्ड’तर्फ सारियो । आफ्ना सहकर्मीको स्वास्थ्य सुधार भएपछी जनरल वार्ड तर्फ सार्ने क्रममा अस्पतालमा कार्यरत सैयौं डाक्टर, नर्स लगायतका कर्मचारीले बाटोको दायाँ बायाँ उभिएर ताली बजाउंदै खुसियाली मनाएका थिए ।
कोरोना संक्रमणका कारण आफूले ठूलो लडाई लडेको र सहकर्मीबाट प्राप्त सहयोग, हौसला र स्नेहप्रति प्रधानले धन्यबाद व्यक्त गरेकीछन । आफू आहिले अस्पतालमा नै रहेको र ठिक हुदै गएको पनि उनले बताइन । ‘ईस्ट ससेक्स हेल्थ एनएचएस ट्रस्ट’ का ‘क्रिटिकल केयर कल्सल्टेन्ट’ केट मुर्रेले पनि उमाले एक कठिन लडाईं जितेकोमा खुसि व्यक्त गरिन ।
उमाको उल्लेखनीय प्रगति भएकोमा सबैले खुसि व्यक्त गरेका छन् । कोरोना भाइरसका काराण थुप्रै स्वास्थ्यकर्मीहरु जोखिममा छन भने धेरैको ज्यान समेत गैसकेको छ । स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) का अभावका कारण फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको ज्यान जोखिममा रहँदै आएको छ ।