गोर्खा अनलाइन रेडियो
लन्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदीले रु ५ लाख बराबरको कोष निर्माण गरी कोभिड १९ प्रभावित नेपालीहरुलाई राहत दिन सुरु गरेको गैरआवासीय नेपाली संघका संचार तथा प्रकाशन समितिका उपसंयोजक कृष्ण केसीले जानकारी दिएका छन् ।कोभिड १९ सहयोग कार्यदलले कोरोना प्रभावित नेपालीको तथ्यांक संकलन सम्बन्धि काम शुरु भैसकेको समेत बताइएको छ । संक्रमण तथा बन्दका कारण अफ्ठ्यारोमा परेका, कम्पनी बन्द भएको, कम्पनीले तलब सुविधा नदिएको, खानपिन अभाव भएको र नेपाली राजदूतावास एवं वाणिज्यदूतावासको समेतको सहयोग लिनेगरी सो सहयोग सुरु गरिएको हो ।
अचानक ज्वरो आउने, सुख्खा खोकी, टाउको दुख्ने, झाडाबान्ताजस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको नं ९३७ मा सम्पर्क गर्नुका साथै संघका प्रतिनिधिहरूको सम्पर्कमा आउन कार्यदलले अनुरोध गरेको छ।
यसका साथै एनआरएनए अध्यक्ष कुमार पन्तले दिएको जानकारी अनुसार संक्रमण र समस्यामा परेका नेपालीहरुको पहिचान गरी आवश्यक सहयोग गर्ने निर्णय समेत कार्यदलले गरेको छ। अध्यक्ष पन्तले सो सहयोगको लागि सम्पूर्ण सहयोगदाता र यस कार्यमा खटिने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेका छन् ।