लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ७ नेपालीको ज्यान गएको छ । छिल्लो समय कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । आफ्नो नातिको बिहेको शिलसिलामा बेलायत आएका बागलुङका कर्ण बहादुर क्षेत्रीको कोरोनाका कारण मृत्यु भएको हो ।
सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई खासै कुनै ठूलो स्वास्थ्यसमस्या समेत थिएन ।
क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा । अरु सबै नेपालमै छन् । मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए । घटनापछि परिवारका सबै सदस्य आइसाेलेसनमा रहेका छन् ।