गोर्खा नालाइन रेडियो
लन्डन । कोरोना भाइरस (कोभीड १९) को संक्रमणले तीव्र रुप लिएपछि बेलायत सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिंदै आएको छ । पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्शेल सेन्टरलाई बेलायतको सबैभन्दा नयां र सबै भन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरेको छ ।
उक्त एक्सेल सेन्टरमा जि २० सम्मेलन, विभिन्न प्रदर्शनी र लन्डन २०१२ ओलम्पिक्स भएका थिए । यस हस्पिटलमा कोरोना भाइरसबाट संक्रमण भएका क्रिटिकल विरामीको लागि प्रयोग गरिनेछ । ८० भन्दा बढी वार्डहरु तथा ४ हजार शैया भएको उक्त हस्पिटल विश्वकै ठूलो हस्पिटल अन्तर्गत पर्नेछ भने विश्वकै ठूलो क्रिटिकल केयर युनिट भएको स्काई न्यूजले बताएको छ ।
८७ हजार ३ सय २८ स्क्वायर मिटर स्पेश भएको यस भवनमा सम्पूर्ण सुविधा सम्पन्न सामग्रीहरु उपलब्ध रहने बताइएको छ ।यस हस्पिटलको निर्माणमा दुई शय भन्दा बढी सैनिकहरु खटाइएका थिए । रोयल एन्जिलियन रेजिमेन्ट, रोयल गोर्खा राइफल्स, कार्पेन्टर, ठेकेदार, एनएचएस कर्मचारी तथा स्वयंसेवक लगायतका थुप्रै व्यक्तिहरुले चौविसै घण्टा खटेर काम गरेका थिए ।
उक्त हस्पिटल सार्वजनिक यातायात, एअरपोर्ट, होटल विश्वविद्यालय, आवासीय क्षेत्रका लागि उपयुक्त रहनेछ । यस हस्पिटलको नेतृत्व ८ जना बरिष्ठ कर्मचारीको टोलीले गर्नेछन । हस्पिटललाई पूर्ण रुपमा संचालन गर्न १६ हजार कर्मचारीको आवश्यकता पर्नेछ । जसमा हजारौं डाक्टर, नर्स, तथा स्वयंसेवकहरु रहनेछन । कर्मचार्री आपूर्तिको लागि अन्य हस्पिटलका कर्मचारी, सेन्ट जोन एम्बुलेन्स, इजीजेट र भर्जिन एटलान्टिक एअरलाइन्सका कर्मचारीद्वारा सहयोग गरिने भएको चिफ अपरेटिंग अफिसर नाटाली फोरेष्टले बताएकीछन् ।
दुई हप्ताभन्दा कम समयमा निरिमित उक्त ४ शैयाको हस्पिटलको उद्घाटन आज राजकुमार चार्ल्सद्वारा गरिने बताइएको छ । कोरोना भाइरसका कारण राजकुमार पनि भर्खरै मात्र सेल्फ आइसोलेशनबाट मुक्त भएका हुन् । उनले भिडियो शन्देश मार्फत यस विशाल हस्पिटलको उद्घाटन गर्नेछन् ।
पछिल्लो समयमा बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ घन्टामा करिव ६ सयको हाराहारीमा पुग्न थालेपछि बेलायतवासी थप त्रसित बन्दै गएका छन् । झन्डै ३ हजारको मृत्यु भैसकेको छ भने संक्रमित हुनेको संख्या ३३ हजार नाघिसकेको छ । दैनिक ४ हजार भन्दा बढीलाई संक्रमण भैरहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । तस्विर अनलाइन