गोर्खा अनलाइन रेडियो
लन्डन । विस्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) का कारण विविध कारणले विभिन्न मुलुकमा अलपत्र परिरहेका व्यक्तिहरुको उद्धारको लागि गैर आवासीय नेपाली संघले तत्परता देखाएको छ । वैदेशिक रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग पुर्याउने विषयमा गैरआवासीय नेपाली संघको टोलीले गृह मन्त्री रामबहादुर थापा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेको छ ।
सरकारले बुधबार खाडीसहित ५५ मुलुक र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको थियो । यसका कारण विदेशमा बस्ने भिसा सकिएर नेपाल आउन चाहने व्यक्तिलाई अप्ठ्यारो परेको छ । तर सरकारले संक्रमित भएका वा बिरामी परेकालाई देशबाट निकाल्न नपाइने विश्व स्वास्थ्य संगठनको सिद्धान्तअनुसार सबैलाई त्यो अवधिसम्म सोही स्थानमा रहन भनेको छ । सरकारको उक्त निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआएनए) ले भने आपत्ति जनाएको थियो ।
भिसा, श्रम स्वीकृति लगायतका विविध कारणले म्याद सकिएर अप्ठेरोमा परेका र स्वदेश फर्किन बाध्य हुनेहरुका लागि सहयोग गर्न सरकार र गैर आवासीय नेपाली संघबीच समझदारी भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् । समस्यामा परेकाहरुले सम्बन्धित देशको दूतावास र गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा सम्पर्क गर्न सम्बन्धित सबिलाई संघले अनुरोध गरेको छ ।
आपतकालीन अवस्थामा उद्धार र सहयोग गर्न सरकार निकट रहेर काम गर्ने र यस विषयमा सरकार पनि सकारात्मक रहेको अध्यक्ष पन्तले बताएका छन् ।
विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताउंदै विदेशमा बस्ने नेपालीलाई परेको अप्ठ्यारो अवस्थामा नेपाल सरकारले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउनु माग समेत गरेका थिए ।





