गोर्खा अनलाइन रेडियो
डा. राघबप्रसाद धिताल
चिनको वुहान प्रान्तबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा (हालसम्म) सबैभन्दा धेरै इटालीमा संक्रमण देखिएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यू भैसकेको छ ।
बेलायतमा यो संक्रमण र मृत्युदर आक्रामक रुपमा बढ्दो छ । यसै सिलसिलामा बेलायतमा लामो समयदेखि कार्यरत एकजना चिकित्सक तथा बरिष्ठ जीपी डा.राघवप्रसाद धितालसँग नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा यो जानकारीमूलक सामग्री तयार पारिएको हो ।
कोरोना भाइरस संक्रमण के हो ? यसबाट कसरी बच्ने ?
यो एक प्रकारको भाइरसबाट सर्ने रोग हो । यो संक्रमण लागेका व्यक्तिलाई ज्वरो (३८.८ से) भन्दा बढी आएमा, अलि भिन्न खालको खोकी लागेमा र श्वासप्रश्वासमा समस्या आएमा कोरोना भाइरसको संक्रमणको आशंका गर्न सकिन्छ । अहिलेसम्म यसको औषधी पत्ता लाग्न सकेको छैन । यो भाइरसको संक्रमणबाट जोगिन सरसफाईमा ध्यान दिनु जरुरी छ । एन्टी व्याकटेरियल हाण्ड जेल वा सावुन पानीले कम्तीमा २० सेकेन्ड हात धुने, घरबाट जरुरी काम बाहेक अनावश्यक ननिस्कने, जमघट केही समयका लागि नगर्ने लगायतका कार्य नियमित गरेरमा यो संक्रमणबाट जोगिन सकिन्छ । साथीभाइ भेटघाटमा हात मिलाउनको सट्टा नमस्कार गर्ने गर्नुपर्छ । यो संक्रमण ७० वर्ष भन्दा माथिका र विभिन्न कारणले शरीरमा रोग भएका व्यक्तिलाई लाग्ने गरेको देखिन्छ । ती मध्ये फोक्सोको समस्या भएकालाई चांडो रोग लाग्ने गरेको अध्ययनले देखाएको छ ।
ज्वरो आएको छ, रुघा खोकी, फ्लूकोजस्तो लक्षण देखिएको छ भने कहाँ सम्पर्क गर्ने ? कसरी सुरक्षित रहने?
जरो, रुघा र खोकी लाग्यो भने कम्तीमा एक सातासम्म घरमै बस्ने । पारासिटामोल, न्यूरोफिन समय समयमा खाने गर्नु पर्छ । त्यसबाहेक तातोपानी र भिटामिन सी पाईने खानेकुरा खानु पर्छ, जसले शारीरिक रुपमा रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता वृद्धि गर्छ । एक साता घरमा क्वारेन्टाइनमा बस्दा पनि ठिक भएन भने १११ मा फोन सम्पर्क गर्नुपर्छ । १११ मा तत्काल फोन लागेन भने अनलाईन मार्फत पनि सम्पर्क गर्न सकिन्छ । एनएचएसको टोलीले तपाईलाई कसरी अघि बढ्ने भनेर जानकारी दिन्छ ।
जीपी र एनएचएसमा कसरी सम्पर्क गर्ने ? भाषाको समस्या भएमा र टेलिफोन इन्टरप्रेटरका लागि कहाँ र कसरी सम्पर्क गर्ने?
जरो आएपछि जीपी कहाँ फोन गर्नुभन्दा पनि एनएचएसको हटलाईन १११ मा सम्पर्क गर्दा राम्रो हुन्छ । बेलायत सरकारले कोरोना भाइरसकै लागि भनेर १११ हटलाइन सुरु गरेको छ । अंग्रेजी भाषामा एनएचएसमा सम्पर्क गर्न गाह्रो भए आफन्त वा अन्य नेपालीसँग फोन मार्फत सहयोग माग्दा राम्रो हुन्छ ।
बजारमा दाल, चामल लगायत अत्यावश्यक सामग्रीको अभाव हुँदै गएको जस्तो देखिन्छ ? कति हप्ता वा महिनाका लागि सामग्री जोहो गर्नु पर्ला ?
बजारमा अत्यावश्यक सामानहरुको क्रमश: अभाव देखिएकाले केही समयका लागि खाद्यान्न खरीद गर्दा राम्रो हुन्छ । तर धेरै खाद्यान्न खरीद गर्दा पनि बजारमा अभाव नहुने गरि ल्याउदा राम्रो हुन्छ ।
हात किन, कसरी, कति पटक साबुन पानीले धुने ?
घरवाट बाहिर जांदा वा घर आउँदा प्रत्येक पटक साबुन पानीले कम्तीमा २० सेकेन्ड धुनुपर्छ । कोही व्यक्ति घर आउँदा उनीहरुलाई पनि हात धुन भन्नु पर्छ । यो संक्रमणबाट आफु मात्र जोगिएर हुंदैन सबैजना जोगिनु पर्छ । त्यसकारण अरुलाई पनि साबुन पानीले हात धुन प्रोत्साहित गर्नुपर्छ ।
मास्क तथा ह्यान्ड स्यानीटाईजर नपाएमा के गर्ने?
बजारमा विस्तारै ह्यान्ड स्यानीटाईजरको अभाव देखिन थालेको छ । यदि ह्यान्डसेनीटाईजर छैन भने साबुन पानीले हात धुने अनि विशेषगरी बाहिर बस वा ट्यूव चढदा मास्कको प्रयोग गर्ने गर्नुपर्छ।
सहयोग, सल्लाह चाहिएमा नेपाली समुदायमा कहाँ, कसलाई सम्पर्क गर्नुपर्ला ?
एक व्यक्तिले अर्को व्यक्तिलाई सहयोग गर्नु धेरै राम्रो कुरा हो । हामी कहाँ यति धेरै संघसंस्था छन् । ती मध्ये कसैको सहयोग माग्न सकिन्छ । त्यसबाहेक नेपाली डाक्टरहरुको पनि संगठन छ । त्यो मार्फत वा प्रत्यक्ष रुपमा मसँग सहयोग मागे पनि आफुले जानेको कुरा जानकारी गराउन म संधै तयार छु ।
भूपू गोर्खा वृद्ध वृद्धालाई कसरी सही सूचना र आवश्यक सहयोग उपलब्ध गराउन सकिएला ?
भूपू गोर्खा वृद्ध वृद्धाहरु जसलाइ अंग्रेजी बुझ्न मुस्किल छ, उहांहरुलाई नजिकको नेपालीले फोन मार्फत सहयोग गर्न सक्छन् । त्यसबाहेक पनि बृद्धबृद्धाहरुले नयाँ पुस्तासँग पनि सहयोग माग्न हिच्किचाउनु हुदैन । समाजमा हातेमालो गर्ने बेला भनेकै यही हो ।
अहिले पनि नेपाली संघसंस्थाले विभिन्न कार्यक्रम गरिहेका छन् ? यसलाई तपाई के भन्नु हुन्छ ?
समाजमा बसेपछि त्यसप्रति उत्तरदायित्व हुन्छ । बेलायत सरकारले पटकपटक यस्ता कार्यक्रम नगर्न, भीडभाडमा नजान र जमघट नगर्न भनि सकेपछि हामीले पनि त्यसलाई पालना गर्नुपर्छ । कतिपय संघसंस्थाले अटेर गरिरहेका छन् । त्यो समुदायप्रति उत्तरदायी नहुनु हो । सरकारले ठूला ठूला धनराशी खर्च भएका फुटबलका कार्यक्रमहरु स्थगित गराइ रहेको छ । हामीले पनि जमघट र खादा-मालालाई तत्काल रोक्नु पर्छ । यो महामारीबाट नेपालीहरु जोगिनु पर्छ । त्यसका लागि सावधानी जरुरी छ ।
७० बर्ष पुगेका र कुनै न कुनै रोगको उपचार गराई रहेकालाई के सुझाव दिनु हुन्छ ?
यो कोरोना भाइरस नियन्त्रण गर्न लामो समय लाग्ने देखिएको छ । त्यसकारण ७० वर्ष पुगेका बुवा तथा आमाहरुले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गर्दछु । बिरामी व्यक्तीलाई पनि यो भाइरसले आक्रमण गर्ने हुंदा एनएचएसले तोकेजस्तै अरु मानिसहरुबाट कम्तिमा २ मिटर टाढा बस्ने गर्नुपर्छ ।
हामीले कसरी बढी भन्दा बढी चेतना फैलाउन सक्छौं ?
तपाईहरुले जस्तै लेखेर अनि विभिन्न संघसंस्थाले आआफ्ना सदस्यलाई यसबारेमा जानकारी गराउनु पर्दछ । त्यसवाहेक नेपाली भाषामा रेडियो मार्फत सूचना प्रवाह गर्न सके अझ प्रभावकारी हुन्छ होला ।