श्रीधर पौडेल-
गैडाकोट २९ साउन । लोक गायिका ज्योति मगर अभिनित ढाडे बिरालो नामक गीत नेपाली लोक संगीतको कालो धब्बा भएको राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान संरक्षक अमर विरही गुरुङ्गले बताउनुभएको छ । प्रतिष्ठानको १५ औँ बार्षिक साधारणसभाको जानकारी दिन गैँडाकोटको फेमिली क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गुरुङ्गले ज्योति अभिनित गीतलाई नेपाली लोकसंगीतको विकासको अवरोधको संज्ञा दिनुभयो । नेपाली लोक संगीतको विकासको लागि नेपालमा मिडियाको ठूलो भूमिका रहेको भन्दै गुरुङ्गले विकृति र विसंगीपूर्ण गीतलाई पनि मिडियाले प्रसारण गर्न नहुने बताउनुभयो । यसैबिच, राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको १५ औँ बार्षिक साधारण सभा गैँडाकोटमा हुने भएको छ । प्रतिष्ठानले आगामी असोज १५ र १६ गते बार्षिक साधारण गर्दैछ । नेपाली लोककला संस्कृतिको संरक्षण सम्बर्धन गर्ने उद्देश्यले १५ बर्ष अघि नवलपरासीमै स्थापना भएको प्रतिष्ठानको १५ औँ बार्षिक साधारण सभा कार्यक्रममा दाहोरी गीत, लोकगित र कला संस्कृतिमा देखिएको विकृति विसंगतिका विषयमा अग्रजहरुले महत्वपूर्ण विचार प्रस्तुत गरिने छ । प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रि पंगेनी, कोषाध्यक्ष रिता थापा, सहकोषाध्यक्ष दीपक खड्का लगायतको उपस्थिति रहेको थियो ।
Source: Narayani Serophero