म्याग्दीमा चट्याङ लागेर दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेद्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।

यसैबीच शनिबार रातिको वर्षासँगै म्याग्दीका उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो ।

दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् । यो वर्षको मंसिरयता नौपटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माविका प्रधान अध्यापक प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताए । बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन् ।

हिमपातका कारण सो गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड तथा रघुगङ्गा गाउँपालिकाको ३७.५ मेगावाट क्षमताको कुइनेमङ्गले रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भएको प्रवर्द्धकले बताएका छन् ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित