गोर्खा अनलाइन रेडियो
लन्डन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस संसारभरी महामारीको रुपमा फैलंदै गएपछि मानिसका दैनिकी देखि लिएर ठूला व्यापार व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको छ । जसका कारण विभिन्न सामाजिक कार्यदेखि लिएर पारिवारिक जमघटमा समेत असर परेको छ ।
आउँदो मार्च २२ तारिखका दिन “नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी )” यूकेले आफ्नो दशौं वार्षिकोत्सव्को अवसर पारेर आयोजना गर्न लागेको ‘समर्पण साँझ’ नामक च्यारिटी कार्यक्रम स्थगित गरेको छ ।
संस्थाका अध्यक्ष मिलन घिमिरेका अनुसार आउँदो मार्च २२ तारिखका दिन आयोजना गरिएको दशौँ वार्सिकोत्सव ‘समर्पण साँझ २०२०’ च्यारीटी कार्यक्रम कोरोना संक्रमणका कारण अर्को सूचना प्रकाशित नहुन्जेलको लागि स्थगित गरेको बताइएको छ ।
सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका ६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बालबालिकाहरुको आवास गृहलाई सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई कोरोना भाइरसको संक्रमण रोकिएपछि पुन गरिने अध्यक्ष घिमिरेले बताएका छन् ।
कार्यक्रम स्थगित गर्नु परेकोमा यसबाट पर्न गएको असुविधाको लागि संस्थाले दुःख व्यक्त गर्दै एक विज्ञप्ति जारि गरेको छ ।
नेप्लिज ब्रिटिश कम्युनिटी(NBC-UK) यूकेद्वारा जारि विज्ञप्ति यसप्रकार छ ।
प्रेस बिज्ञप्ति
मार्च १०, २०२०
नेप्लिज ब्रिटिश कम्यूनिटी यूके (NBC-UK) का पदाधिकारीज्यूहरु, सदस्य ज्यूहरु, शुभचिन्तक ज्यूहरु, संघ-संस्थाहरु, स्पोन्सर ज्यूहरु, पत्रकार ज्यूहरु तथा विभिन्न स्थानबाट प्रत्यक्ष तथा परोक्ष रुपमा हामीलाई सदा साथ-सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक नमस्कार ।
नेपलिज ब्रिटिश कम्यूनिटी यूके (NBC-UK) ले आफ्नो दशौँ बार्षिकोत्सबको शुभ-उपलक्ष्यमा भब्य रुपमा बार्षिकोत्सब मनाउनुको साथसाथै सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बाल-बालिकाहरुको आवासको निर्माण गरेर च्यारिटी गर्ने उद्देश्यले यहि मार्च २२ तारिक आइतबारको दिन लण्डनको ग्रिनफोर्ड टाउन हलमा बिशेष कार्यक्रम “समर्पण साँझ २०२०” को आयोजना गर्नलागिरहेकोकुरा त सर्बबिधितै छ ।
बिगत दश वर्षदेखि बेलायतको नेपाली समाजमा जन्मे-हुर्केको हाम्रो संस्था नेपलिज ब्रिटिश कम्यूनिटी यूके (NBC-UK) आफ्नो स्थापनाकाल देखि विभिन्न परोपकारी र सामाजिक कार्यहरु गर्दै हाम्रो समाजमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ । समाजमा भए-गरेका सुख दु:ख लगायत हरेक घटनाहरुमा हमेसा साथ रहेर सक्दो सहयोग गर्दै आगाडी बढ्नु हाम्रो संस्थाको दर्शन हो । चिनबाट शुरु भएर बिगत २ महिनामा संसारभरि फैलिंदै गरेको कोरोना भाइरस COVID-19 बाट बेलायत पनि अछुतो रहन नसकेको र बदलिंदै गैरहेको आजको असहज परिस्थितिमा हाम्रो समाज गुज्रीरहेको हुँदा यहि मार्च २२ तारिक हुन गैरहेको “समर्पण साँझ २०२०” कार्यक्रम सहज परिस्थिति हुनेबित्तिकै आयोजना गरिने जानकारी दिंदै हालको लागि स्तगित गरिएको व्यहोरा सम्पूर्ण महानुभाबहरुमा यसै सूचना मार्फत जानकारी गराइन्छ ।
सो कार्यक्रमको तैयारीमा हामीलाई साथ र सहयोग गर्नुहुने तथा सहयोग गर्ने बचन दिनुहुने सम्पूर्णमा हार्दिक धन्यबाद दिंदै, लगभग तैयारी सकिसकेको सो कार्यक्रम सोहि भावनामा हामीले सम्पन्न गर्ने कुराको प्रतिबद्दता पनि यसै सूचना मार्फत जानकारी गराइन्छ । आजको निर्णयबाट पर्न गएको असुबिधाप्रति सम्पूर्णमा हाम्रो संस्था NBC-UK क्षमा याचना गर्दै, यस असाधारण परिस्थितिमा गर्नुपरेको यो निर्णयलाई सहज रुपमा बुझिदिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्थ छौं ।
अन्त्यमा, कोरोनाभाइरसCOVID-19 को बारेमा विश्व स्वास्थ्य संगठन तथा पब्लिक हेल्थ इंगलैंडको सल्लाह तथा सुझाब हरुको अनुसरण गर्दै साबधानी अपनाउनुहुन अनुरोध गर्दै सम्पूर्णमा यहाँहरुको सु-स्वास्थ्यको शुभकामना ब्यक्त गर्दछौं।
धन्यवाद ।
मिलन घिमिरे
संयोजक -NBC UK
चुरामणि रेग्मी
सचिब – NBC-Uk





