गोर्खा नालाइन रेडियो
लन्डन । नेपालमा प्रदर्शनी हुदै गरेको मार्मिक कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र ‘आमा’ बेलायतमा पनि प्रदर्शनी हुने भएको छ । यहि २२ मार्चका दिन एम्पायर हल अल्डरसट र २९ मार्चमा साउथ ह्यार्रोस्थित ह्यार्रोबरो फुटबल क्लबमा प्रदर्शन गरिने भएको छ भने लन्डनको प्लमस्टेड, रेडिंग लगायत अन्य शहरमा पनि देखाउने तयारीमा छ । संवेदनशील विषयलाई रचनात्मक शैलीमा बनाइएको ‘आमा’ चलचित्रमा मिथिला शर्माको मुख्य भूमिका रहेको छ भने फिल्मको कथाबस्तु उनकै सेरोफेरोमा आधारित छ। ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनाल आमा चलचित्रमा अझ बढि निखारिएको विश्लेषकहरुले बताएका छन् ।
आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म यूकेमा प्रदर्शन गर्ने जिम्मा के के फिल्मस् एण्ड मिडियाका निर्देशक एवं सञ्चारकर्मी कुशल श्रेष्ठले पाएका हुन् । आफू पनि यही क्षेत्रमा भएकाले स्तरिय चलचित्र विदेशमा प्रवर्धन गर्न र आमा जस्तो उत्कृष्ट चलचित्र हरेक नेपालीले हेरुन् भन्ने सामाजिक दायित्व सम्झेर यस फिल्म प्रदर्शनको जिम्मा लिएको कुशलले बताए । श्रेष्ठले यसअघि बेलायतमा अनमोल केसीको डेब्यू चलचित्र ‘होस्टेल’, आर्यन सिग्देलको ‘के म तिम्रो साथी बन्न सक्छु’, नम्रता श्रेष्ठको ‘मौन’, ‘झोले’ लगायत आधा दर्जन चलचित्र सफलतापूर्वक देखाइसकेका छन् ।
उनले ति चलचित्र प्रदर्शनबाट संकलित रकम विपन्न चेपांग समुदायका विद्यार्थी एवं ‘आमाको घर’ वृद्धाश्रमलाई प्रदान गरेका थिए । २९ मार्चमा हयारो बरो फुटबल क्लबमा हुने प्रदर्शन मगर महिला संघ वेम्ली शाखाको आयोजनामा हुनेछ भने संयोजन रस्मिता दर्लामीले गरेकी छन् साथै २२ मार्च अल्डर्सट शो को लागि रिता क्षेत्री र रोमियन लिम्बुको संयोजनमा प्रदर्शन गरिने भएको छ । रोजीहिरा फाउण्डेशन, इनास ग्लोवल, बुद्ध फाउण्डेशन यूके, क्याट यूके, नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्र्टओक जस्ता संस्थाले चलचित्र प्रवर्धनका लागि सहयोग गरेका छन् । डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दीर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ।





