गोर्खा अनलाइन रेडियो
लन्डन । ग्रेटर रेडिङ्ग नेपाली समाज यूके र रेडिङ्ग एमेंस्टी इन्टरनेशनलको सहकार्यमा नेपाली महिला मानव अधिकार सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिब पांच दर्जनभन्दा भन्दा बढि महिलाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वर्कसायर वोमन एंड कम्यूनिटी कनेक्सन लगायत विभिन्न संघ संस्थाबाट पनि महिला प्रतिनिधिहरुको उपस्थिति रह्यो ।
कार्यक्रममा मूलतः नेपाली महिलाहरुको विद्यमान अवस्था, प्रचलित कानून र महिला मानवअधिकार हनन सम्बन्धि विषयमा छलफल तथा त्यसमा गरिनुपर्ने सुधारको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा एमेंस्टी इन्टरनेशनलको तर्फबाट हिलारी बिदिले स्वागत मन्तब्य दिंदै मानवअधिकारको बिषयमा अन्तरराष्ट्रिय मान्यता बारे प्रष्ट पारेकी थिइन् । संसारभरि रहेका मानवहरुको भेदभाव, हिंसारहित, स्वतन्त्र र सुरक्षित जीवनयापन गर्न पाउनुपर्ने उनको धारणा थियो ।
तेस्तै गरी आन्द्रेय किमरोखले नेपालमा एमेंस्टी इन्टरनेशनले गरिरहेका कार्यहरु र गतिविधिहरुमाथि प्रकाश पारेका थिए । दुर्गा ढकालले नेपालमा विद्यमान महिला मानवअधिकार हनन सम्बन्धि विषयमा जानकारी गराएका थिए । पितृसतात्मक समाजको कारण महिलाहरु कसरी शिक्षा, स्वास्थ्य, सम्पति, नागरिता र सांस्कृतिक समाबेशितामा विभेदको चपेटामा परिरहेको विषयम गहन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
साथै महिला बेचबिखन, घरेलुहिंसा , धर्मसंस्कृतिका कारण महिलाहरुमा हुने हिंसा तथा प्रभावकारी स्वास्थ्यसेवाको अभावले गर्दा महिलाहरुले भोग्दै आएको स्वास्थ्य सम्बन्धि समस्याका जटिलताहरुको पनि डाटा प्रस्तुत गरिएको थियो । बालववाह, दाइजो, बोक्सी, छाउपडि, देउकी, बादी लगाएतका कुरितिहरु र कुसंस्कारको प्रचलन र निरन्तरताले गर्दा उत्पन्न भएका मानवअधिकार हननका घटनाहरुको बारेमा तथ्यांक सहित प्रस्तुत गर्दै आगामी दिनहरुमा महिला मानवअधिकार कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गरिएको थियॊ ।
कार्यक्रममा प्रेरणा दाहालले बेलायत जस्तो विकसित देशमा बसेर पनि नेपाली महिलाहरु कसरी घरेलु हिंसामा परिरहेको बताउदै नेपाली समुदायमा बालबिबाह, जबरजस्ती विवाह विद्यमान रहनुका साथै भाषागत समस्या, संस्कार र संस्कृतिले गर्दा नेपाली महिलाहरु शिक्षित भएर पनि आफूमा आत्माविश्वासको कमि रहेको बताएकी थिइन् ।
कार्यक्रमको दोस्रो चरणमा बेलायतमा बस्ने नेपाली महिलाका समस्या र इस्यूहरुलाई समूहगतरुपमा छलफल गरिएको थियो । सहभागिहरुको तर्फबाट चन्द्र बरनवाल, तुलसा सुबेदी, निराजा थापा, सपना सुबेदी, निशा शर्मा, निर्मला न्यौपाने, सनमाया गुरुङ, नबिता निरौला, शेरया पौडेल, शुभा अधिकारी, गोमा महेली, जानकी कायस्थ लगायत अन्य महिलाहरुले पनि आफनो आफनो विचार व्यक्त गरेका थिए ।
समाज परिवर्तन र महिला हिंसालाई न्यूनीकरण गर्न पुरुषहरुलाई पनि संलग्न गराएर चेतनामूलक कार्यक्रमहरु गर्न सुझाव दिइएको थियो ।





