गोर्खा अनलाइन रेडियो,
लन्डन । बेलायतवासी नेपालीहरुद्वारा संचालित अंग्रेजी अनलाइन समाचार पोर्टल ‘साउथ एसिया टाइम’ ले आफ्नो स्थापनाकालको वार्सिकोत्सव सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘नेपालको सन्दर्भमा व्यापार, विकास र मानवअधिकार’ सम्बन्धि विषयमा छलफल भएको थियो । लन्डनको पट्नीस्थित होली काउ फाइन डाइन रेष्टुरेन्टमा आइतबार सम्पन्न उक्त कार्यक्रम साउथ एसिया टाइमले इन्टरनेशनल सोलिडारिटी फोरम फर नेपाल यूके र हिमालयन डेभलप्मेन्ट इन्टरनेशनलको सहकार्यमा गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफू नेपाल सरकारको प्रतिनिधि भएको नाताले सबै कुरा सुन्न हुन्छ तर सबै कुरामा भने बोल्न नहुने धारणा व्यक्त गरेका थिए । नेपालमा राजनीतिक अस्थिरता सकिएर सरकारले अब आर्थिक अध्याय खोलिरहेको जनाउंदै नेपालको एकमात्र प्रमुख आर्थिक एजेन्डामा प्रवासका नेपालीले पनि आफ्नो भूमिका खोज्ने बेला आएको बताए । ‘नेपालमा राजनीतिक अस्थिरता छ, लोडसेडिङ छ, लगानीको वातावरण छैन्, सुरक्षा छैन् भन्ने जस्ता कुरा अब नदोहोरयाऔं’, राजदूत डा. सुवेदीले भने, ‘बेलायतको प्राज्ञिक, वौद्धिक वर्गले पनि नेपालको समृद्धिमा सहयोग गर्न जरुरी छ ।
’नेपालको संविधान पूर्ण लोकतान्त्रिक र संसारकै उत्कृष्ट मध्ये एक भएको राजदूतले उल्लेख गरे । नेपाललाई आपतविपत पर्दा बेलायतको नेपाली डायष्पोराले मुठी खोलेर सहयोग गरेको बताउंदै राजदूत डा. सुवेदीले बेलायतमा सामाजिक जागरणपछि क्रमशः जातीय पहिचान र अस्तित्व जोगाउने जागरण अनि सांस्कृतिक तथा पेशागत चेतना उजागर भएको पनि बताए । राजदूतले आफूले बेलायत नेपाल दुई देशबीच सम्बन्ध अभिवृद्धिसंगै ‘आर्थिक कूटनीति’ लाई पनि प्राथमिकता दिएको उल्लेख गरे ।
कार्यक्रममा ‘नेपालको उच्च शिक्षामा निजीकरण’ विषयमा प्रस्तुति दिंदै बेलायतको हडर्स्फल्ड विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने सहायक डिन प्राध्यापक डा. पदम सिम्खडाले नेपालमा हाल उच्चशिक्षा लिइरहेका ३ लाख ६१ हजार विद्यार्थीमध्ये एक लाख २१ हजार सरकारी कलेज र एक लाख २८ हजार निजी कलेजहरुमा पढिरहेको बताए । उनले सरकारले उच्च शिक्षामा ०.४ प्रतिशत मात्रै लगानी गरिरहेको भन्दै त्यो दक्षिण एसियाली स्तरमै निकै न्यून रहेको बताए ।
नेपालमा जम्मा एक लाख २१ हजार विद्यार्थी सरकारी कलेजहरुमा पढिरहंदा अहिले झन्डै ६५ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको र अध्ययनकै लागि ४० अर्ब रुपियां देशबाट बाहिरिएको बताए । ‘यो नेपालको सन्दर्भमा भयावह स्थिति हो’, सिम्खडाले भने, ‘तत्काल सम्वद्ध सबै पक्ष बसेर यस्तो स्थितिलाई सम्बोधन गर्नु पर्नेमा सरकार तथा प्रतिपक्ष विश्व विद्यालयमा पदाधिकारीहरु भागवण्डका आधारमा मनोनित गर्ने कुरामै अलमलिनु दूर्भाग्यपूर्ण छ ।’
प्रा. सिम्खडाले अहिले नेपालमा निजी कलेजहरुले सरकारी कलेजले भन्दा बढी विद्यार्थी पठनपाठन गराइ रहेकाले उच्च शिक्षामा गुणस्तर वृद्धिका लागि उनीहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । नेपालमा कलेजको संख्या बढाएर मात्रै विदेश जाने विद्यार्थीलाई रोक्न नसकिने बरु यसका लागि देशभित्रै आर्थिक विकास गरी आयआर्जन र रोजगारीका अवसरहरु बढाउनुपर्ने सुझाव पनि उनले दिए ।
उनले नेपालमा उच्च शिक्षा दोश्रो सबैभन्दा भ्रष्ट क्षेत्र भएको एक अध्ययनले देखाएको जनाउंदै चिकित्सा शिक्षा क्षेत्रमा मात्रै भ्रष्टाचारको कुरा बाहिर आएको तर अरु विधाको भ्रष्टाचारबारे चर्चा नभएको बताए । सही सरकारी नीति र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने नेपाल उच्च शिक्षामा दक्षिण एसियाकै हब बन्न सक्ने सम्भावना रहेको पनि प्रा. सिम्खडाको भनाइ थियो ।
इन्टरनेशनल सोलिडारिटी फोरम फर नेपाल यूकेका डा. कृष्ण उपाध्यायले ‘मोडरेट’ गरेको उक्त कार्यक्रममा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डा. कपिल रिजालले ‘नेपालमा उद्यमशीलता र भ्रष्टाचार नियन्त्रण’ सम्बन्धमा, युनिभर्सिटी कलेज लन्डनकी रिसर्च फेलो डा पुनम यादवले ‘राजनीतिमा महिला सहभागिता’, बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्काले ‘जलवायू परिवर्तन’ र हिमालयन डिभेलपमेन्ट इन्टरन्याशनलका कार्यकारी निर्देशक प्रकाश खनालले ‘दिगो विकास’ सम्बन्धमा ‘प्रिजेन्टेसन’ दिएका थिए ।
बीबीसी संवाददाता खड्काले जलवायू परिवर्तन विश्वकै चिन्ताका रुपमा आइरहेको बताउंदै यसको असर नेपालजस्ता ४७ अल्पविकसित मुलुकले अझ बढि भोग्नुपर्ने बताए । जलवायू परिवर्तन विषय राजनीति र व्यवसायसंग पनि जोडिएको बताउंदै यसबारे ठोस् कदम नचालिए अबको ५०-६० वर्षभित्र विश्वमै भयावहस्थिति आउन सक्ने चेतावनी दिए ।
गैर आवासीय नेपाली संघ आइसीसीका निवर्तमान उपाध्यक्ष कुल आचार्य तथा गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले एक वर्ष पुरा गरेको अवसरमा साउथ एसिया टाइम परिवारलाई बधाई तथा शुभकामना दिएका थिए ।
साउथ एसिया टाइमका कन्सल्टिङ एडिटर भगिरथ योगीले सञ्चालन गरेको कार्यक्रममा प्रकाशक-सम्पादक जगन कार्की, व्यवसायी बिराज भट्ट, योगेन क्षेत्री, भोजराज बराल, सुस्मा बस्नेत, पिपल मोर्गेजका सूर्य गुरुङ लगायतले आ-आफ्नो विचार राखेका





