गोर्खा अनलाइन रेडियो,
भोला लामिछाने
यूरोप बुखारेस्ट,रोमानिया, ११ माघ। रोमानियामा पक्राउ परेका ८ जना नेपाली हरुलाई स्वदेश फर्काउने प्रयास भईरहेको कुरा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले बताएका छन् । वैदेशिक रोजगारीको लागि कामदार भिषामा रोमानियाका बिभिन्न कम्पनीहरुमा कार्यरत ८ जना नेपालीहरुले रोमानियाको सिमापार गरी पोर्चुगल जाने गलत मनसाय राखी अवैध रुपमा सिमापार गर्दै रहेको समयमा उनीहरूलाई रोमानिया स्थित सिमा प्रहरीले गत हप्ता पक्राउ गरेको थियो ।
पोखरेलका अनुसार आगामी हप्ता उनीहरुलाई बुखारेस्ट शहरमा भएको बन्द केन्द्रमा सारिने छ । पक्राउ परेका उनीहरु अहिले आराद शहरमा भएको बन्द केन्द्रमा छन। आफूले ब्यक्तिगत रुपमा नेपालीहरुसंग सम्पर्क राखि उनीहरुको बस्तुस्थिति बारेमा जानकारी लिएको कुरा बताउँदै अवैतनिक वाणिज्यदूत पोखरेलकै पहलमा उनीहरुलाई जतिसक्दो चाँडो स्वदेश फिर्ता गराउन हवाई टिकट र आवश्यक डकुमेन्टहरुको तयारी भईरहेको जानकारी प्राप्त भएको छ । स्मरण रहोस, यसरी अवैध रूपमा सिमापार गर्नेलाई रोमानियामा मात्र होइन युरोपको कुनै पनि मुलुक १० बर्षको लागि जान नपाउने गरी निषेध गरिन्छ ।





