गोर्खा अनलाइन रेडियो,
लण्डन । बेलायतवासी नेपालीहरुको सांगीतिक ढुकढुकी बन्दै आएका सपन कुमार राईले वरिष्ठ गायिका मिरा राणासंगको सहकार्यमा ‘संगै जिउने संगै मर्ने’ बोलको ‘सेन्टिमेन्टल प्रेम गीत’ रेकर्ड गराएका छन् । गायिका मिरा राणाको संगीत रहेको उक्त गीतमा प्रमोद स्नेहीको रचना रहेको छ । गीतको प्राविधिक पक्षमा गीतकार तथा फिल्मकर्मी डा. भोला रिजालको समेत भूमिका रहेकोछ । हाल सम्पादनमा रहेको गीत आगामी फेब्रुअरी महिनामा सार्वजनिक गरिने गायक राईले बताएका छन् ।
उनले अहिलेसम्म ‘प्रतीक’, ‘सलुट’ र ;मिलेनियम सौगात’ लगायतका डेढ दर्जन गीतहरु रेकर्ड गराइसकेका छन् । लण्डनको साउथहलस्थित ‘कुलजीत भमरा’ स्टुडियोमा गीत रेकर्ड गरिएको हो, जहाँ जगजीत सिंह, पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गराई सकेका छन् ।
बेलायतमा एक सफल इभेन्ट अर्गानाइजर कम्पनीका रुपमा परिचित सपन इन्टरटेनमेन्टका निर्देशक समेत रहेका राई मिरा राणा जस्तो व्यक्तित्वसंग सहकार्य गर्न पाउँदा आफू पुरस्कृत भएको महशुस गर्छन । मिरा राणाको आफ्नै संगीतमा आफूले स्वर दिन पाउँदा निकै उत्साहित भएको राईले बताए ।





