ब्रेक्जिटसंगै ह्यारी र मेगनको पनि राजपरिवारबाट बहिर्गमन

नरेन्द्र बस्नेत

लन्डन । युरोपियन युनियनबाट बेलायतको बहिर्गमन अर्थात ब्रेक्जिटको तयारीमा लागेका बेलायतवासीहरुको ध्यान यतिबेला राजपरिवार प्रति केन्द्रित हुन् पुगेको छ । विश्वमा नै लोकप्रिय मानिएको बेलायती राजपरिवारप्रति यतिबेला बेलायतको मात्र हैन संसारकै ध्यानाकृष्ट भएको छ । बेलायतको राजगद्दी उत्तराधिकारीको छैटौं वरियताक्रमा रहेका राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग रहने घोषणा गरेपछि राजदरबारप्रति अन्तर्राष्ट्रिय ध्यान केन्द्रित बन्न पुगेको हो ।

सन् २०१८ मा ड्युक एन्ड डचेस अफ ससेक्सको उपाधि प्राप्त गरिसकेका राजकुमार दम्पतीले बकिङघम राजदरबारसंग सरसल्लाह नगरिकनै बेलायत र उत्तरी अमेरिकामा स्वतन्त्र जीवन बिताउने घोषणा गरेका थिए  । उनीहरुको घोषणापछि महारानी एलिजावेथ द्वितीयाले राजकुमार ह्यारी, ड्युक अफ क्याम्ब्रिज राजकुमार विलियम र प्रिन्स अफ वेल्स् राजकुमार चाल्र्स लगायतका राजपरिवारका वरिष्ठ सदस्यहरूसंग छलफल गरेकी थिइन् । लामो समयदेखिको प्रयास र पछिल्लो समयको छलफलपछि आफ्नो नाती र उनको परिवारको लागि रचनात्मक र सहयोगी मार्ग भेटेको भन्दै रानीले खुशी व्यक्त गरेकी थिइन् ।

राजकुमार दम्पतीले भने आफ्नो पहिलो सन्तान आर्ची ह्यारिसनको पठनपाठन तथा नयां कल्याणकारी काम सुरु गर्न यस्तो निर्णय गरेको बताउंदै आएका छन्  । तर, राजपरिवारका अन्य सदस्यहरूसंग राजकुमार ह्यारी र मेगनको सम्बन्धमा तिक्तता आएको खबर बेलाबखत आउने गरेका थिए  ।

बेलायतका स्थानीय मिडियामा समेत ह्यारी र दाई विलियमबीच सम्बन्ध बिग्रिएको समाचार आएको थियो । ह्यारी दम्पतिले सञ्चारमाध्यमले आफूहरुलाई लक्षित गरिरहंदा दबाब र तनाव महशुस भएको भन्दै उनीहरुले सञ्चार माध्यमलाई मुद्दा समेत दायर गरेका थिए । ह्यारीले आफ्नी आमा स्वर्गीय डायनालाई जस्तै पीडा दिन खोजेको आरोप लगाएका थिए ।

बकिङघम राजदरबारले शनिबार गरेको घोषणा अनुसार आउंदो वसन्त ऋतुदेखि उनीहरुको ‘हिज वा हर रोयल हाइनेन्’ (HRH) भन्ने पदवी खोसिनेछ । तर ह्यारी ड्युक अफ ससिक्स् र मेगन डचेस अफ ससिक्स् रुपमा भने रहिरहनेछन् । वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज भने उनीहरुको बेलायतको पारिवारिक घरको रुपमा रहनेछ । उक्त घर मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड उनीहरुले फिर्ता गर्ने बताएका छन् । उनीहरुले आफ्नो अधिकांश समय उत्तर अमेरिकामा बिताउनेछन् भने ह्यारीले आफ्नो सैन्य जीवनबाट समेत राजिनामा दिनेछन् । उनीहरुले बेलायती महारानीको औपचारिक प्रतिनिधित्व पनि गर्ने छैनन् । ह्यारी दम्पतिको सुरक्षा प्रबन्धबारे अझै प्रष्ट पारिएको छैन् ।

गोर्खा सैनिकसंग निकट रहेका राजकुमार ह्यारी महाभूकम्प लगत्तै नेपाल पुगेर त्यहांको पुनर्निर्माणमा समेत जुटेका थिए । अफगानिस्तानमा रहंदा राजकुमार ह्यारीले गोर्खालीहरुको इमान्दारिता, साहस तथा निस्वार्थ त्यागको खुलेर प्रशंसा गरेका थिए । विश्वमा नै उदाहरणीय र लोकप्रिय रहेको बेलायती राजसंस्थामा राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग रहने उनीहरुको निर्णयले खासै असर नपुग्ने विज्ञहरुले बताएका छन् । यद्यपि उनीहरुले गरेको यस्तो किसिमको निर्णयले भने सबैलाई आश्चर्यचकित पारेको छ । यहि जनवरी ३१ बाट बेलायत युरोपीयन युनियनबाट पनि अलग्गिने तयारीमा छ ।
फोटो अनलाइन

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित