Home > Blog > बेलायतमा उर्वर बन्दै नेपाली कला साहित्य

बेलायतमा उर्वर बन्दै नेपाली कला साहित्य

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नरेन्द्र बस्नेत

लन्डन । नेपाली कला साहित्यका लागि उर्वर भूमि बनिरहेको छ बेलायत । साहित्यिक संघसंस्था खुल्ने क्रम जारी छ, साहित्यिक गतिविधि बढेका छन् । कृति प्रकाशनको श्रृंखला निरन्तर छ । अचेल यहां नेपाली चलचित्र प्रदर्शन र अवार्ड वितरण कार्यक्रम पनि बढेका छन् ।‘म राजदूतका रुपमामात्र होइन, एक स्रष्टा र साहित्यानुरागी व्यक्तिका रुपमा पनि बेलायतको नेपाली डायस्पोरासंग सामिप्यमा छु,’- बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) भन्छन्, ‘नेपाल र नेपालीको परिचय, पहिचान एवं प्रतिष्ठा बढाउने प्राज्ञिक, वौद्धिक, साहित्यिक र सांस्कृतिक क्रियाकलापहरुमा सदैव संलग्न र सहभागी हुन पाउंदा ज्यादै हर्षित छु ।’ बेलायतमा नेपाली समाजलाई जीवन्त र गतिशील बनाउन नेपाली भाषा, कला साहित्य, संगीत, संस्कार र संस्कृति एवं पर्व र परम्पराहरुको संरक्षण, सम्वर्धन अपरिहार्य रहेको उनी बताउंछन् ।

नेपाली राजदूतावासले बेलायतको नेपाली समाजसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमका माध्यमबाट भाषिक, साहित्यिक, सांगीतिक, सांस्कृतिक र कलाका क्षेत्रमा पुनर्जागरण ल्याउन प्रयत्नशील रहेको पनि राजदूत डा. सुवेदीले बताए । पछिल्लो समय बेलायती परिवेशमा नेपाली कला साहित्य निकै मौलाउंदै गएको छ । नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिन बेलायतवासी नेपालीको भूमिका पनि अग्रणी छ । बेलायतको सबैभन्दा पुरानो नेपाली साहित्यिक संस्थाका रुपमा परिचित नेपाली साहित्य विकास परिषद यूकेले नेपाली साहित्यलाई अनवरत मलजल गर्दै आएको छ । सन् १९९५ मा परिषद स्थापना भएपछि साहित्यिक गतिविधिले तीव्रता पायो । पछि अन्य विभिन्न साहित्यिक संस्थाहरु प्रवासी नेपाली साहित्य समाज, अनेसास यूके, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके च्याप्टर, विश्व नेपाली साहित्य महासंघ बेलायत, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान यूके, साहित्य चौतारी यूके, नेपाली मुक्तक प्रतिष्ठान बेलायत, भोजपुर प्रतिभा प्रतिष्ठान बेलायत, विश्व साहित्य मन्च स्वीन्डन लगायतका साहित्यिक संस्थाहरु यस कार्यमा क्रियाशिल छन् ।

उ्ल्लेखित संस्थाहरुले बेलायतका विभिन्न शहरमा पुरस्कार तथा सम्मान कार्यक्रम, कविता गोष्ठी, गजल तथा मुक्तक वाचन, सेमिनार, मोती, भानु जयन्ती कार्यक्रम, कृति प्रकाशन जस्ता गतिविधि गर्दै आएका छन् । तमुधिं यूकेले लन्डनमा बर्षेनी गर्ने नेपाली मेला पनि नेपाली कला संस्कृति विश्वसामू चिनाउने एउटा प्रमुख माध्यमका रुपमा लिइन्छ । त्यहां प्रस्तुत गरिने विभिन्न सांस्कृतिक झांकीले मिनी नेपालकै झल्को दिंदै आएको छ । नेपाली साहित्यिक विकास परिषद बेलायत यसै वर्ष २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती मनाउने तयारीमा छ । परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठ नेपाली साहित्यलाई निरन्तरता दिन बेलायतमा हरेक वर्ष लक्ष्मी जयन्ती, भानु जयन्ती, साहित्य सन्ध्या, पुस्तक विमोचन तथा सय वर्ष पुगेका साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताउंछन् । ‘परिषदले साहित्यकारहरुलाई थप कदर र हौसला प्रदान गर्न एक लाख देखि २० हजार रुपैयाँसम्मका विभिन्न पदक वितरण गर्दै आएको छ’, श्रेष्ठले थपे, ‘यदि कसैलाई समस्या परेर मेडल फिर्ता गरे मेडलको रकम बराबर नगद दिने व्यवस्था पनि हाम्रो छ ।‘परिषद्को रजत जयन्तीका अवसरमा नेपालबाट विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिसकिएको र उक्त समारोहमा विभिन्न १०५ जनालाई सम्मान तथा अवार्ड वितरण गरिने पनि अध्यक्ष मल्लले जानकारी दिए । रजत जयन्तीकै अवसर पारेर परिषदले ‘लालीगुराँस’ स्मारिका पनि प्रकाशित गर्ने भएको छ ।

बेलायतमा साहित्यिक गतिविधिमात्र होइन, नेपालबाट लोकप्रिय कलाकर्मी र साहित्य स्रष्टाहरुका लागि समेत बेलायत पहिलो रोजाइ बन्दै आएको छ । महिनै पिच्छे श्रष्टाहरु बेलायतमा भेटिनु अहिले नौलो होइन् । ‘सगरमाथाको गहिराई’ बाट चर्चित बनेका युवा कवि नवराज पराजुलीको एकल वाचनमा लन्डनमा दुईपटक ‘कविता कन्सर्ट’ हुनुलाई पनि साहित्यतर्फको आकर्षणका रुपमा लिइएको छ । परिषदका पदेन संरक्षक समेत रहेका बेलायतका लागि नेपाली राजदूत तथा वरिष्ठ साहित्यकार दुबसु क्षेत्री बेलायतमा नेपाली साहित्यलाई थप उचाईंमा पुरयाउन प्रयत्नरत छन् । उनी बेलायतमा राजदूतको रुपमा आएदेखि नै नेपाली कला, संस्कृति र साहित्यको क्षेत्रमा दूतावासका तर्फबाट थप उर्जा प्रदान गरिएको साहित्यकारहरु बताउंछन् । नेपाली दूतावासले गत वर्षमात्र बेलायतका करिब डेढ सय साहित्यकारहरुको कविता संग्रह समेत प्रकाशित गरेको थियो ।

वास्तवमै साहित्य र कला क्षेत्रमा बेलायत निकै धनी छ । किरण प्रधानद्वारा निर्देशित नेपाली चलचित्र कस्तुरी देखि सनमकुमार बैरागद्वारा निर्देशित पछिल्लो चलचित्र कैदीको पत्रसम्म आइपुग्दा करिब एक दर्जन जति नेपाली चलचित्र निर्माण भइसकेका छन् । हयाप्पी डेज, पासवर्ड, लिलीबिली, एटिन, यु टर्न, गोर्खा बिनिथ द ब्रेभरी आदि चलचित्र बेलायतमै बनाइएका हुन् । नेपालबाट गुणस्तरिय फिल्म बेलायत ल्याएर प्रदर्शन गर्ने क्रम पनि बढ्दो छ । बेलायतमा नियमित रुपमा नेपाली चलचित्र प्रदर्शन गर्दै आएको नेपलिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्का प्रवासका दर्शकलाई समेत उत्कृष्ट नेपाली फिल्म देखाउने आफूहरुको उद्देश्य रहेको बताउंछन् । उक्त संस्थाले अहिले बेलायतका विभिन्न शहरमा ‘६ माया छपक्कै’ देखाइरहेको छ । ‘कवड्डी कवड्डी’ पछि ‘शुभलभ’ र ‘मारुनी’ फिल्म पनि प्रदर्शनको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत (इनास यूके) र प्रतिभा नक्षत्रले पनि बेलायतमा नेपाली कला संस्कृति जगेर्नामा इंटा थप्ने काम गरिरहेका छन् ।

सन् १९९५ देखि नै नेपाली कलाकारहरुलाई बेलायतमा ल्याएर नेपालीपनको आभाष दिलाउन गायक तथा डिजे सपन कुमार राईद्वारा संचालित सपन इन्टरटेनमेन्ट्स लिमिटेडको पनि उत्तिकै भूमिका छ । राईले यूकेमा वर्षेनी नृत्य प्रतियोगिता गर्दै आएका छन् । उनकै प्रतियोगिताबाट जसिता गुरुंग र धिरज मगर नायक नायिका भइसकेका छन् । नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता राष्ट्रिय स्तरका गायन प्रतियोगिताका विजेताहरु पनि बेलायत आएर आफ्नो ‘परफर्मेन्स’ दिने क्रम नियमित छ । कोसेली सांस्कृतिक परिवार यूकेको पनि नेपाली कला संस्कृति जगेर्नामा उत्तिकै योगदान छ । उसले स-साना बालबालिकालाई नृत्य र नेपाली भाषा समेत सिकाउंदै आएको छ ।

रंगकर्मी सनमकुमार बैरागले समयदृश्य, जिगीषा, भानुभक्त र भीमसेन थापा जस्ता नाटक मञ्चन गरेर बेलायतमा नेपाली नाट्य क्षेत्रको छुट्टै अस्तित्व कायम गरेका छन् । संसारको जुनसुकै भागमा रहेपनि आफ्नो मौलिकता र नेपालीपन कहिल्यै नभुल्न अग्रजहरुको जोड छ । ‘सैयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ भनेजस्तै बेलायतमा अनेक जातजाती, वर्ग, धर्म र क्षेत्रका मानिस रहेपनि नेपालीपन र नेपालीमन अवलम्बन गर्नुपर्ने बताउंछन् राजदूत डा. सुवेदी । ‘धार्मिक तथा सांस्कृतिक विविधता, नेपाली संस्कृति, परम्परा अनि साहित्य र कला नै हाम्रो मौलिक परिचय हो’, राजदूतले थपे, ‘आफ्नो मौलिकतालाई निरन्तरता दिन सबैले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्दछ । नेपाल नै नरहे हामी कहां नेपाली भन्न पाउंछौं ?’ रहुला हामी नेपाली कहाँ नेपाल नरहे …… ।
राटोपाटी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1