काठमाडौं। आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ।
१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८ औं पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाईँदै छ।
प्रज्ञा प्रतिष्ठानमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको ३ दिने कार्यक्रमको घोषणा गरिएको हो। दिवसको सन्दर्भमा शुक्रबार यहाँ ‘पृथ्वीनारायण शाह र अन्तर हिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ।
यस्तै शनिबार संयुक्तरूपमा ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको छ। आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ। आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिने जनाइएको छ।





