तत्काललाई टर्‍यो युद्धको खतरा

राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै राष्ट्रका नाममा गरेको सम्बोधनपछि अमेरिका र इरानबीच मडारिएको युद्धको खतरा तत्काललाई टरेको छ।

 

ट्रम्पले आफ्नो सम्बोधन क्रममा इरानमाथि थप सैन्य कारबाहीको सम्भावना देखाएनन्। ‘इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो,’ उनले भने, ‘शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार छ।’

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो।

उक्त अमेरिकी हमलाको जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैनिक अखडामा दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको थियो। यसले दुई देशबीच द्वन्द्व चर्किनुका साथै युद्धको सम्भावना बढाएको थियो।

 

पछिल्लो समय दुवै देशबाट आएको प्रतिक्रियाले यो खतरा टरेको देखिन्छ।

हमलालगत्तै इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट ‘जवाफी कारबाही सकिएको’ बताएका थिए। यसैलाई राष्ट्रपति ट्रम्पले ‘विश्वकै लागि खुसीको कुरा’ भनेका हुन्।

उनले इरानबाट भएको उक्त हमलामा अमेरिकी सेनालाई केही नभएको पनि जानकारी दिए। ‘अमेरिकी सैनिक अड्डामा केही सामान्य क्षति भयो। तर कोही हताहत भएनन्,’ उनले भने।

ट्रम्पले नेपाली समयअनुसार बुधबार राति १०:१५ बजे सम्बोधन गर्ने क्रममा सबभन्दा पहिला ‘म राष्ट्रपति रहेसम्म इरानलाई आणविक हतियार राख्न दिन्न’ भने। त्यसपछि बल्ल उनले ‘गुड मर्निङ’ भनेर औपचारिक सम्बोधन सुरू गरेका थिए।

 

इरानी सैनिक कमान्डर सुलेमानीलाई पहिले नै मारिनुपर्ने बताउँदै उनले भविष्यमा कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन इरानलाई चेतावनी दिए। उनले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरे।

तत्काललाई युद्ध टरे पनि भविष्यमा दुई देशबीच फेरि तनाव चर्किन सक्ने न्यूयोर्क टाइम्सले लेखेको छ। मध्यपूर्वका इरानका थुप्रै छद्म समूहहरू छ, जसले भविष्यमा कुनै न कुनै नयाँ तनाव सिर्जना गराउन सक्छन्।

यसअघि इरानका राष्ट्रपति हसन रूहानीले पनि मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए। इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै ‘अन्तिम जवाफ’ हुने राष्ट्रपति रूहानीको भनाइ छ।

‘जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए। आतंकवादविरूद्ध उनले नलडेका भए युराेपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे,’ इरानी राष्ट्रपतिले बुधबार साँझ आफ्नो आधिकारिक ट्वीटमा भनेका छन्, ‘सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।’

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको ‘गालामा थप्पड हानेको’ बताएका थिए।

बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको जानकारी दिएका हुन्।

‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीले भने, ‘मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्छ। अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ।’
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित