गोर्खा अनलाइन रेडियो,
लन्डन, माया प्रेम र कमेडीको समिश्रण नेपाली चलचित्र ‘शुभ लभ’ को लण्डनमा प्रदर्शनी गरिएको छ । आइतबार सांझ साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा प्रदर्शन गरिएको सो चलचित्र हेर्नको दर्शकहरुको लागि उत्साहजनक उपस्थिति रहेको गोल्डेनसीपका देब गुरुंगले बताएका छन् । 
चलचित्र हेरेर दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक सन्तोष लोहनीले बताएका छन् । लोहनी अहिले बेलायतमा आफ्नो फिल्मको प्रचारका साथै नेपाल भ्रमण वर्ष २०२० को पनि प्रमोशन गर्दैछन । नेपालका रमणीय स्थलहरु, हिमालय, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायतका ठाउमा फिल्मको छायांकन गरिएको हुदा यस फिल्मले भिजिट नेपाल २०२० लाई समेत प्रचार प्रसार गर्न सहयोग पुग्ने लोहनीले बताएका छन् । 
यस चलचित्रलाई बेलायतका विभिन्न स्थानहरुमा प्रदर्शनी गरिने भएको छ । जनवरी १२ मा पलमस्टिड, १८ जनवरी रेडिंगमा, २० जनवरीमा स्कटल्याण्डमा र १६ फेब्रुअरीमा अल्डरसटमा प्रदर्शनीको टुंगो लागिसकेको छ भने अन्य विभिन्न स्थानहरुमा पनि प्रदर्शनीको तयार भइरहेको लोहनीले बताएकाछन् । यस अघि पनि ‘नारी’ चलचित्र निर्देशन गरिसकेका लोहनीद्वारा निर्देशित यो दोस्रो चलचित्र हो ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । अग्रज कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे, सूर्या थापा पनि विशेष भूमिकामा छन् । हरिहर चर्चित ज्योतिष हुन् भने कृस्टिन मिसटिन–२०१७ की विजेता हुन् । युरोप निवासी प्रकाश कडरिया लाइन प्रोड्युसर रहेका छन् भने धर्मराज सुवेदी चलचित्रका निर्माता हुन् ।





