गोर्खा अनलाइन रेडियो
नरेन्द्र बस्नेत
लन्डन । नेपाली चलचित्र क्षेत्र धरापमा परिरहेको अवस्थामा चलचित्र क्षेत्रलाई जोगाएर राख्न सफल नेपाली चलचित्र ‘छ माया छपक्कै’ लण्डनमा प्रदर्शन गरिएको छ । चलचित्रलाई बेलायतका अन्य विभिन्न स्थानहरुमा प्रदर्शनी गरिने आयोजक नेप्लिज इन्टरटेनमेन्टले बताएको छ । चलचित्रमा नेपाली राजनीति र राजनैतिक दलको परिवेशलाई हास्यात्मक शैलीमा प्रस्तुत गर्न खोजिएको छ ।
ग्रामिण नेपाली सेरोफेरोमा छयांकन गरिएको उक्त चलचित्रले विदेशमा बस्ने नेपालीहरुको मन तान्न सफल भएको छ । चलचित्र हेरिसकेका दर्शकहरुले समय बितेको पत्तै नपाएको र माग्ने बुढो (केदार घिमिरे) को भूमिका आफूहरुले रुचाएको प्रतिक्रिया दिएका छन् । हाल बेलायत तथा युरोपको भ्रमणमा रहेका चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका कलाकार अनुराग कुँवर पनि दर्शकहरुसंग सेल्फी खिच्नमा व्यस्त देखिन्थे ।
नेपाली चलचित्र क्षेत्रमा ‘राम्रो भन्दा हाम्रो’ को प्रवृति बढेको कारणले राम्रा चलचित्रहरुलाई समेत असर परेको कलाकार कुँवरले बताएका छन् । खासगरी विदेशतिर प्रदर्शन गरिने चलचित्रलाई जबर्जस्ति हेर्न बाध्य बनाइने भएकाले नेपाली चलचित्र प्रति दर्शकहरुको नकारात्मक प्रभाव परेको उनको धारण रहेको छ ।
दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतको अभिनय रहेको छ । भर्खरै मात्र निधन भएका कलाकार दीपक क्षेत्रीको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो । कलाकार क्षेत्रीले चलचित्र ‘छ माया छपक्कै’ लगायतका दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन् ।





